काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दारदेखि बरिष्ठ सईसम्मका २ हजार १९६ जना बढुवा भएका छन् । यसरी एकसाथ बढुवा हुनेहरुमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) ११ जना, नायव निरीक्षक (सई) ३४ जना, लेखा उपसमुहतर्फ सई ६ जना रहेका छन् ।

त्यस्तै, सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
मुख्यालयले बढुवा हुनका लागि जेठ १९ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवाका लागि १० दिनभित्र बढुवा फाराम भर्न भनिएको थियो ।
साथै, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी पेस गर्न भनिएको थियो । खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया सुरु हुने प्रवक्ता एवं डीएसपी थापाले बताएका छन् ।