काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले यो जानकारी दिएका हुन् ।

आइतबार बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डाअनुसार यो बैठकमा विभिन्न विषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । मुख्य रूपमा गठबन्धन सरकार, भ्रातृ संस्थाहरूको व्यवस्थापन र क्रियाशील सदस्यता वितरणबारे छलफल हुनेछ ।
कांग्रेसका सात भ्रातृ संस्थाको म्याद २०८१ चैत मसान्तमा सकिएको थियो । महाधिवेशन गर्न नसकेका यी संस्थाहरूको तदर्थ समितिको म्याद थप्ने वा नथप्ने विषयमा पनि बैठकमा छलफल हुनेछ । साथै, महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तसम्मको सदस्यता नवीकरणको प्रगति विवरण प्रस्तुत गर्नेछ ।
बैठकमा पार्टीको १०० दिने अभियानको प्रतिवेदन पेस गरिने, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गरिने र अन्य समसामयिक विषयमा छलफल हुने एजेन्डा समावेश छन् ।
बैठकका प्रमुख प्रस्तावहरू :
१. १०० दिने अभियानको प्रतिवेदन प्रस्तुति
२.केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन
३. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेस
४. अनुशासन समितिको प्रतिवेदन
५.क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण
६. भ्रातृ संस्थाहरूको तदर्थ समितिबारे निर्देशक समितिको रायअनुसार निर्णय
७. नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार
८.‘नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ’ र ‘नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक सङ्घ’ ९निस्टा० को नाम संशोधन
९. कार्यसम्पादन समिति बैठकका निर्णयहरूको अनुमोदन
१०. जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित
११. संसद् र सरकारमा पार्टीको भूमिका र प्रभावकारिताबारे छलफल (मन्त्रीहरूको प्रतिवेदनसहित)
१२. समसामयिक विषयहरू (राजनीतिक, सामाजिक, शैक्षिक, प्रशासनिक आदि)
१३. विविध
यो बैठकले पार्टीको आन्तरिक व्यवस्थापन, नीति र सरकारमा सहभागिताको प्रभावकारितालाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।