काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव राखेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर भर्खरै सिंहदरबार पुगेका शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव समिति बैठकमा राखेका हुन् ।

शिक्षा समितिको बैठक बिहान ८:३० बजेका लागि बोलाइए पनि विभिन्न विषयमा सहमति नजुट्दा दिउँसो ४ बजेपछि मात्र सुरु भएको छ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा सहमति हुन नसक्दा बैठक ढिलाइ भएको हो ।
शिक्षक महासङ्घले असार १५ को समयसीमा तोकेर सडक आन्दोलन स्थगित गरे पनि अन्तिम समयमा सहमति जुट्न नसक्दा विधेयक जटिल बनेको छ । महासङ्घका नेताहरू सहमति कायम गर्न आइतबार बिहानै सिंहदरबार पुगेका थिए ।
आइतबार नै समितिबाट विधेयक पारित हुने अपेक्षा गरिए पनि केही विषयमा सहमति नहुँदा विधेयक अघि बढ्न सकेन । शिक्षक महासङ्घले दबाब बढाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सत्तारुढ दलका सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन् ।
बैठकका लागि सांसदहरू बिहान ८:३० बजेदेखि नै सिंहदरबार पुगेका थिए । तर, विधेयकका केही प्रावधानमा शिक्षक महासङ्घसँग सहमति नजुट्दा बैठक अनिश्चित भएको हो ।
मन्त्रालयले शिक्षक पदपूर्तिका लागि ६० प्रतिशतआन्तरिक र ४०प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव राखेको छ । तर, महासङ्घले यो प्रस्तावमा असहमति जनाउँदै वार्ता छाडेर बाहिरिएको छ । महासङ्घले पनि ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाको माग राखे पनि अन्य केही विषयमा सहमति जुट्न बाँकी छ ।