काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकलाई रोकेर राजनीतिक खेल नखेल्न आग्रह गरेकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि समितिको छलफलमा बोल्दै उनले विधेयक संसद्मा पेस गर्न ढिलाइ गरेर समितिलाई दोषी बनाउने प्रयास भएको आरोप लगाइन् ।

सोमबार नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबीच शिक्षक पदपूर्तिको कोटाबारे भएको छलफल निष्कर्षविहीन बनेको थियो । महासङ्घसँग सहमति गरेर विधेयक समितिबाट पास गरी प्रतिनिधि सभामा पेस गर्ने योजना थियो । तर, विधेयक समितिमै अड्काइएको भन्दै सांसद श्रेष्ठले शिक्षकहरूलाई दलीय स्वार्थ र भोट बैङ्कका रूपमा प्रयोग गर्न खोजिएको आरोप लगाइन् ।
उनले भनिन्, ‘कानुन सांसदले बनाउने हो, स्वार्थ समूहले होइन ।’ शिक्षक महासङ्घले शिक्षकहरूका मुद्दालाई कमजोर बनाएर अन्य एजेन्डा छोडेको उनको जिकिर थियो । उनले थपिन्, ‘इसीडी कर्मचारीको विषय महासङ्घले छोडेको छ। कार्य सम्पादन मूल्याङ्कन ९० प्रतिशत राखिएको छ, जबकि निजामतीको ९५ प्रतिशत छ । सहमति भइसकेको विषयलाई उल्ट्याउने हो भने, सहमति भएको कुरा संसद्को पूर्ण बैठकमा लैजानुपर्छ ।’
विधेयक रोकेर समितिलाई दोष दिने खेल भएको भन्दै उनले ‘राजनीतिक खेल’ बन्द गर्न आग्रह गरिन् ।














