Logo
Logo

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी


693
Shares

काठमाडौं । सामाजिक सञ्जालमा असभ्य र अशिष्ट व्यवहार गर्नेविरुद्ध गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेमध्ये अहिले चार जनाविरुद्ध उजुरी दिएको एलिनाले जानकारी दिएकी छन् ।

केही दिनयता गायिकाद्वय समीक्षा अधिकारी र एलिनाले सामाजिक सञ्जालमा आफूहरूको चरित्र हत्या गर्नेहरूको अकाउन्ट फेसबुकमार्फत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । त्यसरी सार्वजनिक गरिरहँदा धेरैजसोले माफीसमेत मागेका छन् । तर कतिपय भने झन् हौसँदै एलिनाहरूमाथि गाली गलौज गर्न रोकिएनन् ।

यसबीच एलिना र समीक्षालाई कलाकारदेखि राजनीतिज्ञसम्मको साथ रहेको छ । उनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत फेसबुकमार्फत ‘साहसी छोरीहरू’ भन्दै पोस्ट गरेका थिए ।

अहिले समीक्षा र एलिनाले आफूहरूमाथि भइरहेको असभ्य टिप्पणीविरुद्धको अभियान नै चलाइरहेका छन् ।

बिनागल्ती पनि महिला सेलिब्रिटीहरू सामाजिक सञ्जालमा विभिन्न ट्रोल र बुलिङका सिकार भइरहेका छन् । यसअघि दीपाश्री निरौला, पूजा शर्मा, सुरक्षा पन्त, ऋचा शर्मालगायत थुप्रै कलाकारहरूले सामाजिक सञ्जालमा यातना खेपेका थिए ।

सामाजिक सञ्जालमा असभ्य व्यवहार गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्ने निर्णयको सुरुवात भने ऋचाले गरिन् । पछिल्लो समय समीक्षाले आफूलाई असभ्य गालीगलौज गर्नेको प्रोफाइल सार्वजनिक गरेपछि भने यो अभियानले तीव्रता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्