काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ । सोमबार जिल्ला अदालत काठमाडौँमा नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले पाठकविरुद्ध अभियोग पत्र दायर गरेको हो ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको तारे होटल हिल्टनसहित अस्ट्रेलिया, क्यानडा र दुबईमा लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रसारण गरेका थिए । उक्त भिडियो, स्क्रिनसट र कागजातहरू अभियोग पत्रसहित अदालतमा पेस गरिएको छ ।
प्रहरीले पाठकको बयान नलिई मुद्दा दायर गरेको छ । यसअघि उच्च अदालतले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । विद्युतीय कारोबार ऐन-२०६३ को दफा ४७(१) अनुसार सजाय माग गरिएको छ, जसमा १ लाख रुपैयाँ जरिवाना वा ५ वर्ष कैद वा दुवै हुन सक्छ । मुलुकी फौजदारी कार्यविधि संहिता-२०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गर्न पनि माग गरिएको छ। देउवा परिवारको उजुरीमा जाहेरवालाको नाम भने खुलाइएको छैन । पाठकलाई क्षतिपूर्ति तिराउनसमेत माग गरिएको छ ।