Logo
Logo

सत्ताका लागि माओवादीलाई छोडेर एमालेसँग मिल्नु गल्ती भो : शेखर कोइराला 


31.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवामाथि सत्तासमीकरण, गठबन्धन, र अनुशासन समितिका निर्णयहरूलाई लिएर कडा प्रश्न उठाएका छन् । सोमबारदेखि सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा कोइरालाले गठबन्धनको राजनीति र पार्टीको आन्तरिक व्यवस्थापनमा सभापतिको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् । 

The current image has no alternative text. The file name is: sekhar-koiralaa.jpg

कोइरालाले २०७९ को निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर गएको तर अहिले एमालेसँग सत्ता साझेदारी गर्नुपरेको भन्दै यसलाई ‘दुर्भाग्यपूर्ण’ भने । उनले भने,’माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौँ, तर सरकार बनाउन सकिएन । अहिले एमालेसँग सत्ता सहकार्य गर्नुपरेको छ । कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा किन एमालेलाई सत्ता हस्तान्तरण गरियो ?’ उनले संविधान संशोधनका लागि सात बुँदे सहमति भएको उल्लेख गर्दै त्यसको प्रगतिबारे सभापतिसँग जवाफ मागे ।


यस्तै, कोइरालाले बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने सभापति देउवाको निर्णयलाई गलत भएको बताएका छन् । उनले भने, ‘उपेन्द्र यादवलाई टिकट दिने निर्णयले मधेसमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनिएको थियो, तर अहिले मधेस सरकार र उपेन्द्र यादव कहाँ छन्र’ उनले पर्सा–१ मा गठबन्धनको नाममा बलियो सिट अर्को पार्टीलाई दिएको र कांग्रेसका स्वतन्त्र उम्मेदवारले २०,९१७ मत ल्याएर दोस्रो भए पनि गठबन्धनको उम्मेदवार चौथो भएको तथ्य प्रस्तुत गरे ।

पार्टीको अनुशासन समितिमाथि पनि कोइरालाले कडा टिप्पणी गरे । उनले अनुशासन समितिमा बाहिरका सिनियर नेताहरूलाई राख्नुपर्ने र वर्तमान समितिले निष्पक्ष काम गर्न नसकेको बताए । ‘एउटै प्रकृतिका घटनामा कसैलाई सचेत गराइन्छ, कसैलाई निलम्बनको प्रस्ताव गरिन्छ, यो कस्तो कारबाही हो ?’ उनले भने । चितवनमा दिनेश कोइरालालाई आफूले उठाएको भन्दै सभापतिले कारबाहीको कुरा गरेको भन्दै उनले आधार मागे । यस्तै, सर्लाहीको जिल्ला सभापति सर्वोच्च अदालतबाट दोषी ठहर भएको व्यक्तिलाई किन नहटाइएको भन्दै प्रश्न उठाए ।

कोइरालाले पार्टीको १५औँ महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिँदै ढिलाइको कारण स्पष्ट गर्न सभापतिलाई आग्रह गरे । उनले भने, ‘क्रियाशील सदस्यता वा अन्य कारणले हो, स्पष्ट जवाफ चाहियो ।’ उनले भातृ सङ्गठनहरू नेविसंघ, तरुण दल, र महिला सङ्घको अधिवेशनमा ढिलाइ र दलित सङ्घको ४२ जिल्ला विघटनको निर्णयमाथि पनि प्रश्न उठाए ।

पार्टी एकताको पक्षमा आफू सधैँ रहेको भन्दै कोइरालाले तितो सत्य बोल्दा कसैको चित्त नदुखाउन आग्रह गरे । उनले वी.पी.कोइरालाको शालिक अनावरण कार्यक्रममा पार्टी नेताहरूले बहिष्कार गरेको घटनालाई लिएर पनि आक्रोश व्यक्त गरे । ‘यस्ता नेताहरूलाई अनुशासन लाग्छ कि लाग्दैन ?’ उनले प्रश्न गरे । कोइरालाले गुटबन्दी र भागबण्डाले पार्टी कमजोर भएको भन्दै एकताका लागि सबैलाई सचेत गराएर अगाडि बढ्नुपर्ने सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्