पोखरा । गण्डकी प्रदेशका अर्थ सचिव राजेन्द्रदेव पाण्डेमाथि बजेट निर्माणमा अनियमितता गरेको आरोपमा कारबाही गरिएको छ । सोमबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारीबाट हटाई मुख्यमन्त्री कार्यालय मातहत जगेडामा राख्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्यालयले सचिव पाण्डेलाई पत्राचार भइसकेको जनाएको छ । बजेटमा भएको अनियमितताबारे आन्तरिक छानबिन हुनेछ । मुख्यमन्त्री कार्यालयले उनलाई अर्थ मन्त्रालयबाट हटाउनु आफैँमा कारबाही भएको जनाएको छ ।
विकास कार्यक्रम तयार गर्ने क्रममा पाण्डेमाथि नीतिगत प्रक्रिया उल्लङ्घन, विषयगत मन्त्रालयको सिफारिसबिना योजना समावेश र आफ्नो गृहपालिका तनहुँको भानु नगरपालिकामा अस्वाभाविक रूपमा बजेट केन्द्रित गरेको आरोप छ । वार्षिक विकास कार्यक्रमको अध्ययनले भानु नगरपालिका, विशेषगरी चितिखोला क्षेत्रमा दर्जनौँ योजनाका लागि झन्डै ३३ करोड रुपैयाँ विनियोजन भएको देखाएको छ । बेलीब्रिज, मोटरबाटो, सिँचाइ, खानेपानी, म्याराथन र वृत्तचित्र निर्माणजस्ता शीर्षकमा यो रकम छुट्याइएको आरोप लागेको छ ।
सांसदहरूले पाण्डेको कार्यशैलीमाथि प्रश्न उठाएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार संवेदनशील रहेको र छिट्टै परिणाम देखिने बताएका छन् ।
सचिव राजेन्द्रदेव पाण्डेले मुख्यमन्त्री कार्यालय सरुवा गरिएको विषयमा आफूलाई गर्व भएको बताएका छन् । मुख्यमन्त्री कार्यालयले उनलाई कारबाही गरिएको भने पनि उनले आफूलाई कुनै कारबाही नभएको बताएका छन् ।
उनले कर्मचारी सरुवा नियमित विषय भएको र सोही अनुसार आफूलाई पनि सरुवा गरिएकोमा कारबाही गरिएको भनेर विभिन्न टिप्पणी भएको बताए ।