
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र जे नहोस् भन्ने चाहन्थे अहिले त्यही भइरहेको छ । पार्टीका हरेक निकायमा सर्वसम्मत नेतृत्व चयनको अवधारणालाई अघि सार्दै आगामी महाधिवेशनमा पनि आफू सर्वसम्मत अध्यक्ष हुने ओलीको चाहानामा ‘ब्रेक’ लाग्ने अवस्था आएको छ । ओली आफू आजीवन निर्विकल्प अध्यक्षको रूपमा उभ्याउन चाहन्थे र चाहन्छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले ओली झस्किएका छन् भने एमालेको ठूलो पंक्ति उत्साहित बनेको छ । कतिपयले विद्याको सक्रियतालाई एमाले अध्यक्ष ओलीको प्रतिस्पर्धीको रूपमा अथ्र्याएका छन् भने कतिपयले वाम एकताको अभ्यासको नयाँ प्रस्थान विन्दुका रूपमा सोचेका छन् । जे जस्तो अड्कलबाजी गरे पनि पूर्वराष्ट्रपति भण्डारीका पछिल्ला गतिविधि र भनाइले एमाले अध्यक्ष ओलीलाई पारेको असजिलो प्रस्ट बनिसकेको छ । अझ शनिबारको कार्यक्रममा दुईजना एकै ठाउँ उभिएर दिएको अभिव्यक्तिले एमाले दुई धारमा विभाजित भएको स्पष्ट हुन्छ ।
पार्टीको सचिवालय बैठकमा सँधैजसो आफ्नो मत बलियो बनाउने र सर्वसम्मत बनाउने ओलीका लागि पछिल्ला केही बैठकहरू असजिला बनिरहेका छन् । महासचिव शंकर पोखरेल, उपमहाचिव विष्णु रिमालबाहेक ओलीको मनोभावना बुझेर समसामयिक प्रस्तावमा छलफलसमेत गरिँदैन । ‘पार्टी अध्यक्ष ओली अहिले सामान्य रूपमा प्रस्तुत भएको देखिँदैन, बैठकहरू सामान्य रूपमा सञ्चालन हुन सकिरहेका छैनन’, एमालेका एक उपाध्यक्षले दृष्टिसँग भने ।
एमाले केन्द्रीय सचिवालयको ११ असारको बैठकमा महासचिव शंकर पोखरेलले ‘राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा गइसकेको व्यक्तित्व पार्टी राजनीतिमा लाग्न हुँदैन, त्यसैले यस्तो व्यवस्था विधानमै राखौँ’ भन्ने प्रस्ताव राखेपछि ओलीले केही धारणा राख्न खोजेका थिए। तर महासचिव पोखरेलको प्रस्तावको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेले तत्काल प्रतिवाद गरेपछि ओलीले उहाँको भावनालाई कदर गरौँ न त भनेर बैठकको ध्यान अन्यत्रै मोडेका थिए ।
सचिवालयमा रहेका अन्य केही नेताहरूले पोखरेल र पाण्डेलाई साथ दिएपछि ओली करिब करिब एक्लै परेका थिए । एमालेभित्रको शक्ति–समीकरणमा आफू बलियो रहेको देखाउनु ओलीको चातुर्यतामाथि अब विद्या भण्डारीको इन्ट्री भैसकेको छ ।
मधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू एमालेबाट बाहिरिएपछि केपी ओली निर्विकल्प भन्ने भाष्य स्थापित गराइएको थियो । ओली आफैँले पनि अझै २०–२५ वर्ष नेतृत्व नछोड्ने सार्वजनिक घोषणा गरेका थिए । अब भने त्यस्तो अवस्था नभएको एमाले नेताहरूले दाबी गरिरहेका छन् ।
नेताहरूले निर्धक्क एमालेभित्र ओली चुनौतीहीन रहेको दाबी गर्थे । विकल्प खोज्न जरुरी नरहेको भनेर पार्टी विधान ओलीको अनुकूल व्याख्या गर्ने र संशोधन गरिन थालेको थियो । सचिवालय बैठकमा भण्डारीलाई पार्टी राजनीतिमा आउन दिन नहुने गरी वैधानिक व्यवस्था गर्नुपर्ने महासचिव पोखरेलको प्रस्तावको प्रतिवाद गरेका वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय सभागृहमा शनिबार आयोजित कार्यक्रममा विधान महाधिवेशन (२०७८) ले गरेको अध्यक्षको कार्यकाल दुई पटक मात्र हुने सन्दर्भ उठाएर ओलीलाई काउन्टर दिएका छन् ।
एमालेका उपरोक्त दुई नेताहरूको भनाइले एमालेको आगामी विधान अधिवेशन (२०–२२ भदौ) मार्फत ओली पक्षले भण्डारीलाई पार्टी नेतृत्वमा पुग्न नदिन वैधानिक रूपले छेक्ने प्रयास गर्ने देखिए पनि अब उनी अघि बढिसकेको अवस्था छ ।
यो साता ओलीले पार्टीभित्रै राजनीतिक तनाव झेल्नु प¥यो । शुक्रबार बिहानबाटै पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुने समाचार सार्वजनिक भइरहेका थिए । ओलीले यी समाचारतिर ध्यान नदिने कुरै थिएन । शुक्रबार र शनिबार बिहानका समाचार हेरेपछि पार्टीको मुख्य ध्यान मिसन ०८४ रहेको बताउँदै विद्या भण्डारीको राजनीतिक पुनरागमनलाई वास्ता नगर्ने र ध्यान मोड्ने काम गरेका थिए ।
ओली त्यतिमा मात्र रोकिएनन् एमालेका कार्यकर्तालाई महाधिवेशन नलागेको र केही स्वार्थी समूहलाई महाधिवेशन लागेको बताउँदै त्यस्ताको पछाडि नलाग्न चेतावनीसमेत दिए । यो चेतावनी ठ्याक्कै अनेरास्ववियूको महाधिवेशनमा सम्बोधन गर्दा जस्तै थियो । त्यतिबेला यस्तै भाषण गरेर अघोषित रुपमा विद्या भण्डारीको कार्यक्रममा नजान र पक्षधरता नलिन चेतावनी दिएका थिए ।
शनिबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भने ओली आफैले आफूहरूलाई विभाजित गर्न लागेको तर संभव नभएको जिकिर गरेर विवाद नभएको सन्देश दिन खोजे । तर अप्रसाँगिक सन्दर्भहरू सहकारी ठगी, चार वटी श्रीमती थिए भन्ने जस्ता विषय निकालेर मदन भण्डारी सर्वस्वीकार्य पात्र थिएनन् भन्ने अर्को सन्देश दिएर बाहिरिए । एमालेका अधिकांश नेताले यस्तो अभिव्यक्तिको कल्पनासमेत गरेका थिएनन् ।
मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा ओलीले आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–२०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने बताएर कार्यकर्तालाई धम्क्याएका थिए ।
‘हामी अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन,’ ओलीले भनेका थिए, ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरूलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।’
पार्टीभित्र महाधिवेशनको बहस अध्यक्ष ओली आफैले गर्दैछन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको संगठित सदस्यता नवीकरण गरी राजनीतिक सक्रियता बढाएपछि यसबारे अनेक कोणबाट व्याख्या र बहस सुरु भएको छ । अझ शनिबार त मदन भण्डारी फाउण्डेशनले गरेको कार्यक्रममा विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गर्ने भनेपछि ओलीलाई हनहनती राजनीतिक ज्वरो नै आएको थियो । संयोगले यो कार्यक्रममा ओली सहभागी भएर सम्बोधन गरे र स्पेन जाने हतारोमा विद्या भण्डारीको भाषण नसुनी हिँडे । आफ्ना कुरा भन्ने तर अर्काको कुरा नसुन्ने ओलीको यो पुरानो रोग हो ।
दुई पटक राष्ट्रपति भइसकेकी भण्डारी र दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले एमाले नेतृत्वका लागि देखाएको आकांक्षाले कस्तो राजनीतिक मोड लिन्छ भन्नेचाहिँ हेर्न बाँकी नै छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र भण्डारीबीच सवालजवाफले तरंग उत्पन्न भइरहेका बेला यी दुई नेताबीच संवाद पनि सुरु भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच सम्भावित सहकार्यका विषयमा करिब दुई घण्टा भेटवार्ता भएको हो । भण्डारीको सक्रियताले एमालेभित्र दुई धार सिर्जना हुन थालेपछि ओलीले संवाद गरेका हुन् । भण्डारी राजनीतिमा आउने भाषण गर्ने संकेत पाइसकेका ओली भने रक्षात्मक नै बनेका थिए ।