Logo
Logo

निजामति सेवा विधेयकमा गम्भीर षड्यन्त्र भयो ; प्रचण्ड 


1.1k
Shares

काठमाडौं । नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने प्रक्रियामा गम्भीर अनियमितता र षड्यन्त्र भएको दाबी गरेका छन् । मङ्गलवार पेरिसडाँडामा योङ कम्युनिष्ट लिग, नेपाल ९वाइसिएल० को केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले विधेयकमा अनधिकृत हस्तक्षेप र छेडखानी भएको भन्दै त्यस्ता प्रवृत्तिलाई कुनै पनि हालतमा छुट नदिने बताए ।

The current image has no alternative text. The file name is: prachand-angry.gif

उनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए । ‘परिवर्तनका उपलब्धिहरूलाई उल्टाउने प्रयास निरन्तर भइरहेको छ। संघीय निजामति सेवा विधेयकमा समेत गम्भीर षड्यन्त्र भएको तथ्य स्पष्ट छ,’ उनले भने, ‘यो विधेयकमा कसले र कसरी अनियमितता गर्‍यो, त्यसको गहन छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न हामी प्रतिबद्ध छौं ।’

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफलपछि कर्मचारीका लागि अवकाशपछि दुई वर्षको ‘कुलिङ पिरियड’ सहितको विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो । तर, पारित हुने क्रममा ‘बाहेक’ शब्द थपिएको पाइएपछि व्यापक विवाद र आलोचना भएको छ । प्रधानमन्त्री प्रचण्डले संविधान र जनताको बलिदानबाट प्राप्त उपलब्धिहरूलाई कमजोर पार्ने प्रयास विगतमा पनि भएको र हाल फेरि त्यस्तो खतरा देखिएको बताए ।

‘यथास्थितिवादी र प्रतिगमनकारी प्रवृत्तिहरूले परिवर्तनलाई उल्टाउने कोसिस गरिरहेका छन् । हामीले विगतमा यस्ता प्रयासको प्रतिवाद गरेका थियौँ, र अहिले पनि त्यस्ता प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिनेछौँ,’ उनले भने । सो अवसरमा उनले वाइसिएललाई पार्टीको विचार, नीति र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अगाडि बढ्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्