काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा पुनर्बहालीको माग गर्दै मुकुल ढकालले दायर गरेको रिटको सुनुवाइ आज नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा मङ्गलवारका लागि तोकिएको यो रिट १८औँ नम्बरमा थियो ।

तर, सर्वोच्चले समय अभावका कारण सुनुवाइ हुन नसक्ने जनाएको छ । यसअघि गत बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । उक्त सुनुवाइपछि आज दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश भएको थियो ।
छलफलपछि ढकाललाई महामन्त्री पदमा फर्काउन अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय हुने अपेक्षा छ । ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउनुपर्ने मागसहित परमादेश र उत्प्रेषणको आदेश माग गरेका छन् ।














