काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ निष्क्रिय हुने शब्द कसरी समावेश भयो भन्ने विषयमा गम्भीर छानबिन आवश्यक रहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले पठाएको प्रतिवेदन हुबहु पारित भएको दाबी गर्दै उनले यो विषयमा समितिका पदाधिकारी र सदस्यहरूसँग छलफल गरेका छन् ।

छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले भने, ‘समितिका सदस्यहरूले यो गलत भयो, यो हाम्रो निर्णय होइन भन्नुभयो । मैले तपाईंहरूले पठाएको प्रतिवेदन नै हो भनेर जवाफ दिएँ ।’ उनले राष्ट्रियसभाले विधेयकमा संशोधन गरेर पठाएमा प्रतिनिधिसभाले पनि त्यसलाई स्वीकार वा अस्वीकार गर्ने प्रक्रिया अघि बढाउने बताए । ‘समितिका सबैले यो गलत भएको र सच्याउनुपर्ने कुरा गर्नुभएको छ,’ उनले भने, ‘राष्ट्रियसभाबाट संशोधन भएर आयो भने प्रतिनिधिसभाले पनि त्यसलाई विचार गर्नेछ ।’
सभामुखले छलफल र प्रस्तुतिका सबै रेकर्डहरू सुरक्षित रहेको र ती रेकर्डहरूको आधारमा कसले के राय राखे, कसले लेख्यो र सही ग¥यो भन्ने कुरा खोजिने जानकारी दिए । उनले सचिवालयलाई यसबारे निर्देशन दिइसकेको बताए । सभामुख घिमिरेले विधेयकमा कसको स्वार्थमा चलखेल भएको हो भन्ने पत्ता लगाउनु सबैको कर्तव्य भएको बताए ।
‘मुख्य कुरा, गलत विधेयक पास हुनुहुँदैन । यो कसको स्वार्थमा भयो, किन भयो भन्ने कुराको खोजिनीति गर्नु हाम्रो दायित्व हो,’ उनले भने । निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था निष्क्रिय हुने शब्दावली कसरी समावेश भयो भन्ने विषयले संसद् र बाहिर व्यापक बहस सिर्जना गरेको छ । सभामुख घिमिरेले यो प्रकरणको निष्पक्ष छानबिन हुने र आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेका छन् ।