Logo
Logo

दृष्टिमाथि अवहेलना मुद्दा : विशेष बारले छान्यो ‘एमिकस क्युरी’का लागि तीन वरिष्ठ अधिवक्ता


8.3k
Shares

काठमाडौं । विशेष अदालतले अदालतको सहयोगी (एमिकस क्युरी)का रूपमा तीन जनाको नाम छनोट गरेको छ । उनीहरुले दृष्टिन्यूजमाथि दायर भएको अदालतको अवहेलना मुद्दामा ‘एमिकस क्युरी’का रूपमा बहस गर्नेछन् ।

गत बिहीबार विशेष अदालतले उक्त मुद्दामा तीनजना ‘एमिकस क्युरी’ झिकाउने आदेश गरेको थियो । यसैअनुसार तीनजना वरिष्ठ अधिवक्ता छनोट गरेको विशेष बारका अध्यक्ष टीकाबहादुर कुँवरले जानकारी दिएका छन् । उनका अनुसार वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, रविनारायण खनाल र भीमार्जुन आचार्यलाई छनोट गरिएको छ ।

गत बिहीबार अवहेलना मुद्दाका विपक्षीहरू उपस्थित भएपछि उनीहरूको बयान लिँदै धरौटी मागको साथसाथै ‘एमिकस क्युरी’ पठाइदिन बारलाई विशेषले आदेश दिएको थियो । गत मंगलबार दर्ता भएको उक्त मुद्दामा आदेश गर्दै विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा पाँचैजना सदस्यको इजलासले यस मुद्दामा सुनुवाइ गरिरहेको छ ।

यस मुद्दामा उक्त मिडियाका तर्फबाट र आफ्नो हकमा समेत शम्भुलाल श्रेष्ठ र दृष्टिन्युजका कार्यकारी सम्पादक एमपी सुब्बा प्रतिवादी बनाइएका छन् । दुवैजना प्रतिवादीबाट जनही २५/२५ हजार रुपैयाँ धरौटी मागको आदेश भएको थियो ।

अध्यक्ष कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासबाट यस्तो आदेश भएको थियो । आदेशमा बकपत्र सम्पन्न भएपछि अन्तिम सुनुवाइको पेसीका दिन तीनजना कानुन व्यवसायी तोकी पठाइदिन आदेश भएको थियो ।

दृष्टिन्युज अनलाइनमा विशेषका कामकारबाही र मुद्दाका विषय तथा फैसलाबारे कपोकल्पित र भ्रामक समाचार प्रकाशन भएको भन्दै अदालतकै कर्मचारीले प्रतिवेदन बुझाएपछि अवहेलनाको कारबाही सुरु भएको थियो । विशेषका कर्मचारीहरू नवराज सापकोटा, सागर भण्डारी, यज्ञराज रेग्मी, प्रमिला काफ्ले र गरिशा भट्टराईको प्रतिवेदनका आधारमा मुद्दा चलेको हो ।
दृष्टिन्यूज अनलाइनमा विशेषमा सेटिङका मुद्दामा धमाधम फैसला भएको समाचार प्रकाशित भएको थियो । त्यसपछि पहिलोपटक विशेषका सबै न्यायाधीश सम्मिलित इजलास बसेको थियो ।

उक्त इजलासले अर्को आदेश नभएसम्मका लागि ‘दृष्टिन्युज अनलाइनमा मिति ०८२/0३/८ मा विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ शीर्षकमा प्रकाशित र प्रसारित समाचार सामग्री जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्न, सो सामग्री नहटाउन, परिवर्तन, परिमार्जन इत्यादि केही पनि नगनू, नगराउन’ आदेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस्