
काठमाडौं । नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि भएको छेडखानीमा संलग्न सबैमाथि कारबाही हुनु पर्ने माग गरेको छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले राज्य व्यवस्था समितिको बैठकमा बोल्दै समितिका सभापति, सचिवदेखि निजामती विधेयक बिगार्ने को को थिए सबैमााथि छानविन र कारबाही गर्न माग गरेका हुन् । विधेयकमा असावधानीले भन्दा पनि जानेर छेडखानी भएको भन्दै उनले संलग्नहरूलाई कडा कारबाहीको माग गरेका हुन् ।
‘नजानेर त्रुटि भएको होइन, टीममा को–को संलग्न छन् ? उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ । यो यत्तिकै सजिलै राखिएको होइन,’ उनले भने, ‘उपसमितिमा पनि व्यापक छलफल गरेका छौं । सारमा जुन कुरा राख्न खोजेका थियौं, त्यो उल्टो हुने गरेर पारित भयो । यो एकदमै गलत छ ।’
पाण्डेले समिति सभापतिले समेत आफूहरूलाई अन्तिममा विधेयक पढ्न नदिएको गुनासो गरे । आफूले धेरै पटक विधेयक पढ्नका लागि मागेपछि सभापतिले नदिएको गुनासो गर्दै उनले विश्वासघातको अवस्थामा देश कसरी अगाडि बढ्छ भनेर प्रश्न गरे ।