
काठमाडौं । नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ पिरियड’ मा छेडखानी भएको विषयमा छानबिन गर्न माग गरेको छ ।
बुधबार केन्द्रीय कार्यालय पोरिसडाँडामा पत्रकार सम्मेलन गरी पाार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले विधेयकमा भएको चलखेलबारे छानबिन गर्न माग गरेका हुन् । उनले समितिबाट पास भइसकेको विधेयकमा ‘कुलिङ पिरियड’ लाई प्रभावित पार्न रहस्यमय चलखेल भएको आरोप लगाए ।
‘समितिबाट सर्वसम्मत पास भएको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने छ । पुलिस, सेना, प्रशासन क्षेत्रका कुनै पनि व्यक्तिलाई दुई वर्ष नियुक्त गर्न नपाइने सपाट सत्य थियो,’ उनले भने, ‘यो एकदम रहस्यमय छ । त्यसलाई उल्टाएर जालसाजी ढङ्गले कुलिङ पिरियड नराख्ने चलखेल भएको छ । यो धेरै गम्भीर छ । यसलाई प्रारम्भिक दृष्टिकोणबाट छानबिन गर्न सरकारसँग माग गछौं ।’