
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कानुन बनाउने ठाउँ संसद जालझेल गर्ने ठाउँमा परिणत भएको बताएको छ । राज्यव्यवस्था समिति बैठकमा बोल्दै राप्रपाका सांसद बुद्धिमान तामाङले कुलिङ अफ पिरियडमाथि भएको जालसाझीको चर्चा गर्दै नेपालको संसदीय इतिहासमा यस्तो जालझेल कहिल्यै नभएको बताए ।
साथै उनले कानुन बनाउने थलोमै यस्तो जालझेज हुँदा जनतामा संसद्प्रति विश्वास गुमेको बताए । ‘यो घटनाले संसद जालझेल गर्ने संस्थाको रूपमा परिणत भयो । कानुन बनाउँदा त यति धेरै जालझेल भयो भने अरु के होला भनेर जनताले भन्न थालेका छन्,’ उनले भने, ‘हामी नै जालझेल गर्ने संस्थामा बसेको प्रमाणित भयो । यसलाई गलत सावित गर्नुपर्यो ।’
उनले यो छानबिनको विषय भएको भन्दै छानबिन भएर दोषीलाई कारबाही हुनुपर्ने धारणा राखे । जालझेलमा समितिका सभापतिको पनि हस्ताक्षर देखेपछि आफू छक्क परेको उनको भनाई छ ।














