Logo
Logo

तातोपानी भन्सार नाकाबाट पहिलोपटक हेलिकोप्टर आयात


2.3k
Shares

सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याएको हो । तातोपानी नाकाबाट हेलिकोप्टर आयात गरिएको यो पहिलोपटक हो ।

उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए । उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । अहिले तातोपानी भन्सार नाकामा जाँचपासको प्रक्रिया चलिरहेको उनले बताए ।

उनले तातोपानी भन्सार नाका हुँदै कम्पनीले पहिलोपटक हेलिकप्टर ल्याएको बताए । उनले भने, ‘पहिले एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याएका थियौं । तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर ल्याएको पहिलोपटक हो ।’

तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडालले पनि आफूले पहिलोपटक तातोपानी नाकाबाट हेलिकप्टर आयात भएको थाहा पाएको बताएका छन् ।

उक्त हेलिकप्टर जाँचपासपछि माउन्टेन फ्लाइटमा प्रयोग गर्ने भुसालले बताएका छन् । माउन्टेन कम्पनी प्रालिसँग यो नयाँ हेलिकप्टरसहित तीनवटा हेलिकप्टर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्