Logo
Logo

इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याउने गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाउने


5.4k
Shares

काठमाडौं । एसइई परीक्षामा ४ जीपीए प्राप्त गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने भएका छन्।

भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी उनले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएको खबर सञ्चार माध्यममा सार्वजनिक भएपछि उनको सर्वत्र चर्चा चलेको थियो ।

समाजसेवी समेत रहेका गुरुङ दम्पती गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि यस्तो वाचा गरेका हुन्।

बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरुङ र श्रीमती सावित्री गुरुङले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका छन्।

गुरुङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन्।

माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन्।

चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबर पाएपछि आफ्नो नतिजा खोज्न थालिन्। नतिजा आउँदा उनी सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण भइन्।

सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन् भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन्।

गोमाको थातथलो रामेछापको खनियाँपानी हो। उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियाँपानीबाट भक्तपुर आएकी हुन्। परिवारको कमजोर आर्थिक अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाका बुबा मीनबहादुर श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्