काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा चितवनका गुञ्जन राईलाई पक्राउ गरेको छ । ललितपुरबाट पक्राउ परेका राईमाथि साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राईले सामाजिक सञ्जालमा चौहानलाई लक्षित गरी अपमानजनक र अभद्र टिप्पणीहरू गरेको उजुरी परेपछि अनुसन्धान सुरु भएको थियो । साइबर ब्यूरोले प्राविधिक विश्लेषण र प्रमाण सङ्कलन गरी राईलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतमा म्याद थपको प्रक्रिया अघि बढाइँदै छ । साइबर ब्यूरोले सामाजिक सञ्जालमा हुने अपराधलाई गम्भीर रूपमा लिँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा गालीगलौज र चरित्रहत्या गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्रहरीले नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ । यस्ता गतिविधिले सामाजिक सद्भावमा खलल पुर्याउनुका साथै कानुनी कारबाहीको जोखिम निम्त्याउने प्रहरीको भनाइ छ ।