काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले बैंकर्स र उद्योगीहरूलाई छुट्याउने सम्बन्धमा प्रस्तावित बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (बाफिया) विधेयकको कार्यान्वयनमा तत्काल कदम चाल्दा नेपालको अर्थतन्त्रमा ठुलो समस्या आउन सक्ने चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिमा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै राणाले बैंकर्स र उद्योगी एउटै व्यक्ति हुनु सुशासनको सिद्धान्तविपरीत भए पनि नेपालको वर्तमान सन्दर्भमा व्यवहारिक पक्षलाई ध्यान दिनुपर्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका राणाले एउटै व्यक्ति बैंकर्स र उद्योगी दुवै हुनुले स्वार्थको द्वन्द्व निम्त्याउने भए पनि तत्काल यो व्यवस्था लागू गर्दा अर्थतन्त्रमा तरलता सङ्कट आउन सक्ने धारणा राखे ।
‘प्रमोटरहरूले आफ्नो सेयर धितो राखेर अन्य बैङ्कबाट ऋण लिएका छन् । स्वार्थको द्वन्द्व रोक्न यो व्यवस्था ठिक भए पनि तत्कालै लागू गर्दा अर्थतन्त्रमा तरलता समस्याले असर गर्न सक्छ,’ उनले भने । उनले यो व्यवस्थालाई १५ वर्षको सङ्क्रमणकालीन अवधिमा लागू गर्नुपर्ने प्रस्ताव गरे।राणाले नेपालको अर्थतन्त्र अहिले संवेदनशील अवस्थामा रहेको र हतारमा निर्णय लिन नहुने बताए । उनले सुशासन र अर्थतन्त्रको स्थायित्व बीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।
यस्तै, पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बाफिया विधेयकलाई हतारमा पारित गर्दा सकारात्मक परिणाम नआउने बताए ।
उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गम्भीरतापूर्वक विधेयक बनाउनुपर्ने र त्यसले मात्र अर्थतन्त्रलाई बलियो बनाउने धारणा राखे । कार्कीले अर्थतन्त्रलाई गति दिन बाफिया विधेयकमाथि व्यापक र नयाँ ढङ्गले छलफल गर्नुपर्ने बताए । ‘बाफियामा व्यापक सुधार गरेर मुलुकको सुस्त अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ । साना किसान र स्टार्टअपलाई कर्जा कसरी प्रवाह गर्न सकिन्छ, त्यसबारे सोच्नुपर्छ,’ उनले भने ।
उनले अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गभर्नरसहित आवासीय छलफल आयोजना गरी विधेयकलाई अन्तिम रूप दिनुपर्ने सुझाए । कार्कीले कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा चामलजस्ता आधारभूत खाद्यमा आत्मनिर्भर हुन कृषिमा लगानी कसरी बढाउन सकिन्छ भन्ने विषयमा ध्यान दिन आग्रह गरे । उनले बैङ्कहरूप्रति जनताको विश्वास बढाउनुपर्ने र व्यवसायीले कर्जा लिएर लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।
‘बैङ्कमा तरलता छ, तर व्यवसायीहरू कर्जा लिएर लगानी गर्न हिच्किचाइरहेका छन् । यस्तो वातावरण नबनेसम्म अर्थतन्त्र बलियो हुँदैन,’ उनले भने । उनले एक करोडभन्दा कम कर्जा लिन जनताले बैङ्कमा कठिनाइ भोगिरहेको र धितोका नाममा अनावश्यक दुख दिने गरिएको बताए ।