Logo
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक इन्धन डिपो सञ्चालन


882
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमले ७५ करोड लागतमा अत्याधुनिक हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको छ । निगमका अनुसार, ५५ वर्षको इतिहासमा पहिलोपटक शतप्रतिशत स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट यो डिपो निर्माण सम्पन्न भएको हो ।

The current image has no alternative text. The file name is: pokhara.gif

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक विमानस्थल सञ्चालनमा ल्याएसँगै डिपो निर्माण प्रक्रिया अघि बढेको थियो । विमानस्थल परिसरमा ९,२१५ वर्गमिटर जग्गा लिजमा लिएर निगमले डिपो बनाएको हो ।

२ चैत २०७७ मा बोलपत्र आह्वान भई २९ कात्तिक २०७९ मा निर्माण सम्झौता भएको थियो । १५ पुस २०७९ मा जग्गा भाडा सम्झौता र १ साउन २०८० मा शिलान्यासपछि निर्माण कार्य तीव्र गतिमा सम्पन्न भएको हो ।

डिपोमा १,२०० किलोलिटर क्षमताका तीनवटा भण्डारण ट्याङ्क (कुल ३,६०० किलोलिटर) निर्माण गरिएको छ । ट्यांकको उचाइ र ब्यास १२ मिटर छ ।

सुरक्षाका लागि १,२०० किलोलिटरको पानी ट्याङ्की र ४,००० लिटरको फोम स्टोरेज ट्याङ्कसहित फायर फाइटिङ संरचना जडान गरिएको छ । यो संरचनाले आगलागीको जोखिम निस्तेज गर्न सहयोग पुग्ने निगमले जनाएको छ । 

डिपोमा २३० हर्सपावरका दुई फायर फाइटिङ पम्प, १५ हर्सपावरको जक्की पम्प र ८ इन्चको पाइप जडान गरिएको छ । हवाई इन्धन भर्न र भण्डारण गर्न १ र ५ माइक्रोनका फिल्टरसहित प्रडक्ट पम्प राखिएको छ ।

स्टोरेज ट्याङ्क र पाइप अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) मापदण्डअनुसार निर्माण गरिएको निगमले बताएको छ । यो डिपोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि इन्धन आपूर्ति सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्