Logo
Logo

संसदीय व्यवस्था खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने ठाउँ हो : प्रचण्ड


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानका महत्त्वपूर्ण प्रावधानहरूलाई प्रतिक्रियावादी शक्तिहरूको पक्षमा उल्टाउने प्रयास भइरहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रूपरेखाको लोकार्पण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् । 

The current image has no alternative text. The file name is: prachand.gif

प्रचण्डले संसदीय व्यवस्थालाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणालीको रूपमा चित्रण गर्दै अहिले संसद्मा त्यस्तै प्रवृत्ति देखिएको बताए ।  उनले समितिका प्रतिवेदनहरूमा भइरहेको छेडखानीले बाहिर एउटा कुरा देखाउने र भित्र अर्कै खेल हुने गरेको पुष्टि भएको जिकिर गरे । प्रचण्डले भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गरिएको र दलाल पुँजीवादको स्वार्थमा काम भइरहेको आरोप लगाए ।

‘कसले दलाल पूँजीवादविरुद्ध लडिरहेको छ र कसले त्यसको स्वार्थमा काम गरिरहेको छ, सबैले बुझ्नुपर्छ,’ उनले भने, ‘समाजवाद प्राप्तिको लडाइँ सामान्य छैन ।’ ‘सक्कली’ र ‘नक्कली’ समाजवाद छुटाउन चुनौतीपूर्ण भएको उल्लेख गर्दै प्रचण्डले समाजवाद शब्दको दुरुपयोग सामन्त, नोकरशाह र पुँजीवादीहरूले समेत गरिरहेको बताए । 

‘सबैले समाजवादको नाम लिन्छन्, तर व्यवहारमा व्यक्तिवाद हाबी छ,’ उनले भने । उनले ‘वैज्ञानिक समाजवाद’ शब्दलाई समेत अवसरवादी र पुँजीवादीहरूले फेसनको रूपमा प्रयोग गरेको जिकिर गरे । प्रचण्डले नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएर समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताए ।

तर, समाजवाद तत्काल स्थापना हुन नसक्ने भएकाले संविधानमा ‘समाजवाद उन्मुख’ शब्द राखिएको उनले स्पष्ट पारे । उनले सङ्घीयतालाई समाजवादको सामूहिकताको अभ्यासको भ्रमको रूपमा व्याख्या गरे । प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्दा देशलाई समाजवादतर्फ लैजाने प्रयास गरेको दाबी गरे, तर बुद्धिजीवीहरूले यो कुरा बुझ्न नसकेको आरोप लगाए ।
उनले समाजवादको बहस गर्ने सबैखाले मञ्चहरूलाई स्वागत गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्