काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई साइबर क्राइमको मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पाठक बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भई बकपत्र दिएका थिए, र सोही दिन थुनछेक बहस भएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, साथै अस्ट्रेलिया, क्यानडा र दुबईमा पनि लगानी रहेको भन्दै युट्युबमा प्रसारित सामग्रीमाथि अनुसन्धान गरेको थियो ।
उक्त भिडियो, स्क्रिनसट र कागजातहरू अभियोग पत्रसहित अदालतमा पेस गरिएको छ । प्रहरीले पाठकलाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिएको भए पनि उच्च अदालत पाटनले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
सोही कारण पाठकको बयान नलिई अभियोग पत्र दायर गरिएको हो । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा १ बमोजिम कसुरमा सजाय माग गरिएको छ । देउवा परिवारले उजुरी दिए पनि अभियोग पत्रमा जाहेरवालाको नाम उल्लेख गरिएको छैन ।
साथै, मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा ५७ बमोजिम पाठकलाई पक्राउ गर्न पुर्जी जारी गर्न माग गरिएको छ । उक्त दफा अनुसार कसुरदार ठहरिएमा १ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । यस्तै, पाठकबाट जाहेरवालालाई क्षतिपूर्ति भराउनसमेत माग गरिएको छ।