काठमाडौं । नेपाली सेनाको जङ्गी अड्डाले सैनिक आचरणविपरीत कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई बर्खास्त गरेको छ । यद्यपि, उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी कारबाही गरिएको छ ।

सैनिक कल्याणकारी कोषको २ करोड २५ लाख रुपैयाँ हिनामिना प्रकरणमा कोर्ट अफ इन्क्वायरीको छानबिनपछि बिहीबार यो आदेश जारी भएको हो । बर्खास्तीमा परेका अधिकारीहरूबाट हिनामिना भएको रकम असुल गर्ने आदेशमा भनिएको छ ।
कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८र७९ र २०७९र८० मा अनियमितता भएको सूचनापछि महासेनानी उत्तम सापकोटाको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो । प्रारम्भिक छानबिनमा अनियमितता पुष्टि भएपछि केही सैनिक अधिकारीहरूलाई सैनिक प्रहरी गणको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।
छानबिनका क्रममा तत्कालीन आवास तथा बीमा शाखामा कार्यरत सेनानी समीर गुरुङ, प्यूठ टिकाराम गोतामे र जमदार रवीन्द्र लुङ्गेलीको मिलेमतोमा आर्थिक हिनामिना भएको पाइएको थियो । गुरुङ र लुङ्गेलीले स्वेच्छिक अवकाश लिइसकेका थिए । सैनिक ऐनअनुसार अवकाशपछि ६ महिनासम्म मात्र कारबाहीको दायरामा आउने भएकाले उनीहरूमाथि अनुसन्धान गर्न जङ्गी अड्डाले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको थियो ।
प्रारम्भिक छानबिनमा गोतामेले ४०–५० लाख र लुङ्गेलीले १ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको बयानमा खुलेको थियो । थप अनुसन्धानमा सहायक रथी खड्का र सेनानी कार्कीको संलग्नता पनि पुष्टि भएको थियो । यो प्रकरणमा संलग्न केही अवकाशप्राप्त अधिकारीहरूमाथि ठगीसम्बन्धी कसुरमा प्रहरीमार्फत अनुसन्धान भइरहेको छ ।














