काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीलाई चन्दा दिएकै आधारमा कसैले आफूलाई नेता ठान्नु गलत भएको बताएका छन् । बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले डलर अर्बपति विनोद चौधरीतर्फ सङ्केत गर्दै चन्दा पारदर्शी हुनुपर्ने र त्यसकै आधारमा नेतृत्व दाबी गर्न नहुने धारणा राखे ।

‘चन्दा दिनु राम्रो हो, तर त्यो कति पारदर्शी छ भन्ने कुरा महत्त्वपूर्ण छ,’ कोइरालाले भने, ‘चन्दा दिएकै आधारमा मलाई नेता मान्नुपर्छ वा जे गरे पनि हुन्छ भन्ने दुस्साहस गर्नुहुँदैन ।’ उनले बीपी कोइरालाको भनाइ स्मरण गर्दै ‘सुकिला–मुकिलाले’ पार्टी कब्जा गर्ने र इमानदार कार्यकर्ताले सङ्घर्ष गर्नुपर्ने अवस्था आउन नहुनेमा जोड दिए ।
‘हामीले यस्तो प्रवृत्तिप्रति सचेत हुनुपर्छ,’ उनले भने । विनोद चौधरीले डा। शेखर कोइरालालाई ‘सङ्कीर्ण’ भनेकोप्रति आपत्ति जनाउँदै कोइरालाले भने, ‘शेखर कोइराला वा शेरबहादुर देउवाजस्ता नेताहरू सङ्कीर्ण भएको भए विनोद चौधरी केन्द्रीय सदस्य बन्न सक्थे कि सक्थेनन्रु हाम्रा नेताहरूमा कमजोरी होलान्, तर छुद्रता र सङ्कीर्णता छैन ।’
कोइरालाले कांग्रेसको पहिलो प्राथमिकता निराश जनतामा आशा जगाउनु रहेको बताए । उनले केन्द्र सरकारको काम प्रभावकारी बनाउन र भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पछिल्लो निर्वाचनको समीक्षा गर्दै उनले नेतृत्वको गल्तीका कारण कार्यकर्तामाथि कारबाही गर्न नहुने बताए ।
‘माओवादी र एमालेसँगको गठबन्धनमा धोका खाएका छौँ । नेतृत्वले गल्ती गर्ने, अनि कार्यकर्तामाथि कारबाहीरु यो ठीक होइन,’ उनले भने, ‘पार्टीलाई धोका दिने गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गर्नुहुँदैन, उनीहरूको कारबाही फुकुवा हुनुपर्छ ।’