Logo
Logo

धरानमा श्रमदानका बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ


1.6k
Shares

सुनसरी । श्रमदान गर्न आएका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन् । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान–१६ मा भएको श्रमदानका बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको हो ।

पीडितका परिवारले राईविरुद्ध किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीपछि धरान–१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले बताए । धरान बहुभाषिक पाठशाला निर्माणको बेला श्रमदान गर्न आएका राईले बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोप छ ।

प्रहरीका अनुसार पक्राउ परेका राई श्रमदातालाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप छ ।

उक्त घटनाबारे मेयर साम्पाङलाई थाहा थिएन । पीडकलाई भगाउन सहयोग गरेको भन्दै अन्य दुईजनाविरुद्ध पनि किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

पीडित परिवारका सदस्यले प्रहरी बोलाउन खोज्दा कुन्दन श्रेष्ठले श्रमदाता मानसिक रोगी भएको बताएको र त्यस्तालाई कुटेर केही फाइदा नहुने बताएका जनाएका छन् । श्रेष्ठले ‘यस्ता घटना बाहिर ल्याउन उल्टै बालिकाको बदनाम हुने’ भन्दै लुकाउनुपर्ने सुझाव दिएको पीडितका पारिवारले बताएको छ ।

पाठशालामा खोलाले कटान गरेपछि मेयर साम्पाङको नेतृत्वमा तारजाली लगाउन श्रमदान अभियान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्