काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन व्यवस्था उचित नरहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६६ औँ वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने प्रस्ताव आफूले राख्ने गरेको बताए । उनले भने,‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको मान्छे होइन । कतिपय विश्वविद्यालय आएका छन् । यो हटाउनु पर्छ भन्ने प्रस्ताव गर्ने मान्छे हुँ ।’
मन्त्री पन्तले त्रिविको पदाधिकारी नियुक्तिको विषय पनि प्रश्न उठाएका छन् । ‘प्राध्यापकलाई भीसी, रेक्टर, रजिस्ट्रार, डिन, विभागीय प्रमुख नियुक्त गर्दा राजनीतिक सर्टिफिकेटलाई आधार बनाउनु प¥यो भने विश्वविदालय जान्छ । हामी त्यही नियति भोगिरहेका छौँ,’ मन्त्री पन्तले भने, ‘सेवा आयोग खाली छ । आयोगमा निश्चित मापदण्डको आधारमा अध्यक्ष आइदिउन भन्ने चाहना छ । तर कति सफल हुन सक्छु थाहा छैन । संयुक्त सरकार छ । लिमिट भित्र रहेर काम गर्नुपर्ने छ तर प्रयत्न गर्नुपर्छ ।’
विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र स्वार्थ पूरा गर्ने थलो बनाउन नहुने उनको भनाइ छ । विश्वविद्यालयमा लगाएको ताला अदालतले खोल्न आदेश दिनुले पनि त्रिविमा जटिलता रहेको उनको भनाइ छ । उनले भने, ‘हिजो अदालतको फैसलाले ताला खोल्नु भनेपछि आज कतै–कतै ताला खुल्ने सुन्दै छु । त्रिविमा जटिलता छ । अप्ठ्यारो छ । जटिलता हटाउनु पर्छ । सबै मिल्यौँ भने विश्वविद्यालयको इतिहासलाई पुनर्स्थापना गर्न सक्छौँ । गलत राजनीतिबाट मुक्त गर्नुपर्छ ।’
‘विश्वविद्यालयको मुख्य पाटो अनुसन्धान हो । सर्टिफिकेट महत्त्वपूर्ण कुरा होइन । जागिरको लागि पेस गर्न काम लाग्ला तर प्रमाणपत्र बोक्नेले ज्ञान र प्रज्ञालाई बोक्न सकेनन् भने शिक्षा प्रणाली फेल हुन्छ,’ मन्त्री पन्तले भने ।
त्रिविले देशलाई चाहिने जनशक्ति उत्पादन गरिरहेको बताउँदै उनले ज्ञान र प्रविधि दुवै स्थिर भएर नरहने बताए । उनले पुर्खाले प्राप्त गरेको ज्ञानले आजको दुनियाँ नचल्ने पनि बताए ।
त्रिविले आफ्नो ६६ औँ वार्षिकोत्सव स्मृति भवनमा मनाएको छ । कार्यक्रममा उपकुलपति खड्ग केसी, रेक्टर दुविनन्द ढकाल, रजिस्ट्रार केदार प्रसाद रिजाल, डिन, क्याम्पस प्रमुख, त्रिविका कर्मचारी लगायतको उपस्थिति थियो ।