काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध नकारात्मक टिप्पणी गर्नेहरूप्रति कडा आपत्ति जनाएका छन्। शुक्रवार पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले टिप्पणी गर्नेहरूलाई विश्वास गर्न नसकिने बताए ।

अध्यक्ष नेपालले पार्टीको भविष्य नरहेको र पार्टी नचल्ने भन्ने हल्ला फैलाउनेहरू विभिन्न समयमा देखा परिरहने उल्लेख गरे । ‘हाम्रो पार्टीबारे नकारात्मक टिप्पणी भइरहेको छ । कतिपयले यो पार्टीको भविष्य छैन भन्छन्, कसैले यो चल्दैन भन्छन् । यस्ता कुरा भन्नेहरू हरेक कालखण्डमा देखिन्छन्,’ उनले भने, ‘सबै मानिसमा समान विश्वास र आत्मविश्वास हुँदैन ।’
उनले पार्टीभित्र अन्तर्घात गर्ने र पार्टीलाई कमजोर बनाउने तत्त्वहरूलाई सबैले चिन्नुपर्नेमा जोड दिए । ‘पार्टीविरुद्ध अन्तर्घात गर्ने र बर्बाद पार्नेहरूलाई हामीले पहिचान गर्नुपर्छ,’ नेपालले थपे, ‘त्यस्ता तत्त्वहरूलाई साथ दिनेहरू को-को छन्, त्यो पनि पत्ता लगाउन जरुरी छ ।’