
काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगन्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च जाने भएको छ ।
इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले दिएको जन्मकैदको फैसला उच्चले उल्ट्याएपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनका लागि सर्वोच्च जाने निर्णय गरेको हो ।
कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सूर्यराज दाहालले आलताफ आलमसहितका प्रतिवादीलाई सफाइ दिने उच्चको आदेशविरुद्ध पुनरावेदनका लागि सर्वोच्च जाने निर्णय भएको जानकारी दिए । उनले अहिले मस्यौदा लेखन कार्य भइरहेको र तयार हुनासाथ सर्वोच्चमा पुनरावेदन गर्ने बताए ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले गत १४ जेठमा आलमसहित महताब आलम, शेष सेराज र बद्री सहनीलाई सफाइ दिने फैसला गरेको थियो ।














