Logo
Logo

सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ


1.4k
Shares

काठमाडौं । रुपन्देहीको तिलोत्तमा–३, डिंगरनगरस्थित दूरगामी बहुउद्देश्यीय सहकारीमा करिब १५ करोड रुपैयाँ अपचलनको आशङ्का गरिएको छ । आक्रोशित बचतकर्ताहरूले सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुलीको घर घेराउ गरेका छन् ।

The current image has no alternative text. The file name is: shakri.gif

व्यवस्थापकले श्रीमतीसँग किर्ते सम्बन्ध विच्छेद गरेर अपचलनबाट उम्कने प्रयास गरेको भन्दै बचतकर्ताहरूले बिहीबार साँझदेखि रातिसम्म उनीहरूको घर घेराउ गरेका हुन् । 

बचतकर्ताका अनुसार व्यवस्थापकले किर्ते सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएको थाहा पाएपछि अध्यक्ष र सचिवले पनि यस्तै तरिका अपनाउन सक्ने आशङ्कामा घर घेराउ गरिएको हो । 

अध्यक्ष तिवारी, सचिव थापा र व्यवस्थापक पराजुली रकम अपचलनको प्रमाण बाहिरिएपछि सम्पर्कविहीन छन् । बचतकर्ताहरूले उनीहरूलाई तत्काल सम्पर्कमा ल्याएर बचत फिर्ताको ग्यारेन्टी गर्न माग गरेका छन् । 

घर घेराउका क्रममा सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाको टोलीले तोडफोड र अन्य अप्रिय घटना हुनबाट जोगाएको छ । 

सहकारीका अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा छन् । प्रदेश सहकारी ऐन, २०७६ अनुसार एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी सञ्चालक बन्न पाउँदैन । तर, स्थानीय कांग्रेस नेता तिवारीले राजनीतिक प्रभाव प्रयोग गरी १७ वर्षसम्म अध्यक्ष पदमा रहेर ऐन उल्लङ्घन गरेका छन् । 

करिब ४०० बचतकर्ताले बचत फिर्ताको माग गर्दै सहकारीमा निवेदन दिएका थिए । १९ असारदेखि बचत फिर्ता गर्ने सहमति भए पनि अध्यक्ष र सचिवले माइन्युट च्यातेर फरार भएको आरोप छ ।

अध्यक्ष तिवारीले सहकारीको रकम तिलोत्तमाको जानकीनगरमा होटल एचके, जोगिकुटी चोकमा घर र ढुंगाखानीमा लगानी गरेको आरोप लागेका छ । 

२०५० मा स्थापना भएको यो सहकारीमा करिब २,००० सदस्य छन् र मुख्य कारोबार दूध सङ्कलन र बिक्री हो । लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीका अनुसार डिंगरनगर सहकारीसहित २५ सहकारीका बचतकर्ताले बचत फिर्ताको माग गरेका छन् । यीमध्ये १५ बहुउद्देश्यीय, ९ बचत तथा ऋण र १ जडीबुटी सहकारी छन् । प्रदेशका ४,००० सहकारीमध्ये ८४८ को नियमन लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालयले गर्छ । तर, १३ जनाको दरबन्दीमा ४ जना कर्मचारी मात्रै भएकाले प्रभावकारी अनुगमन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्