काठमाडौं । झुटा विवरण तयारी कम्प्युटर सामग्री खरिदमा झण्डै १६ करोड भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द (एनटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ विरुद्ध मुद्दा दायर भएको छ ।

०७६ माघ १५ भएको ठेक्का सम्झौतामा उच्च गति कम्प्युटिङ उपकरण खरिद गर्ने ब्यहोरा राखेर कमसल गुणस्तरको उपकरण खरिद गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा अनियमिता भेटिएको अख्तियारको ठहर छ ।
केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वलीसहित ठेक्का पाएको वर्ल्ड डिस्ट्रिव्युसन नेपाल प्रालि र कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार विशेषमा मुद्दा दायर गरेको हो ।
आव ०७६/७७ मा उच्च कम्प्युटिङ पूर्वाधारको आपूर्ति, ढुवानी, जडान तथा परीक्षण सञ्चालनका लागि भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएको ठेक्का सम्झौतामा १५ करोड ८८ लाख ५० हजार भ्रष्टाचार भएको ठहर गर्दै सोही बराबरको बिगो कायम गरेर तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनालाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कारबाही माग गरिएको छ ।
अख्तियारले शुक्रवार विशेष अदालतमा दायर गरेको मुद्दामा भनिएको छ, ‘बोलपत्र दस्तावेज मा उल्लेख भएअनुसार प्रत्येक स्टोरेज कन्ट्रोलरमा २.४ गिगाहर्ज कार्यक्षमताको २४ कोर प्रोसेसर जडान गर्नुपर्नेमा ओराकल जेडएफएस स्टोरेस अप्लायन्स जेडएस–२ कन्ट्रोलरमा २।१ गिगाहर्जको प्रोसेसर मात्र राखिएको पाइएको छ ।’
प्राविधिकरुपमा २.४ गिगाहर्जको प्रोसेसरको प्रति सेकेन्ड ३०० मिलियन बढी निर्देशन प्रक्रिया (कम्प्युटिङ) गर्न सक्छ । जुन २.१ गिगाहर्ज कार्यक्षमताको प्रोसेसरको तुलनामा १४.२८ प्रतिशत बढी हुने हुँदा खरिद सम्झौतामा गुणस्तरीय कम्प्युटर उपकरण देखाएर कमसल सामग्री जडान गरिएको पाइएको अख्तियारले जनाएको छ ।











