काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ताबीच वाकयुद्ध चर्किएको छ । शुक्रवार बिहान एमाले सचिव योगेश भट्टराईले पार्टीभित्रको आन्तरिक विवादलाई लक्षित गर्दै गरेको टिप्पणीप्रति केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले जवाफ फर्काएकी छन् ।

तिम्सिनाले भट्टराईको फेसबुक स्टाटस सेयर गर्दै दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाएको घटना र राप्रपासँगको चुनावी गठबन्धनको स्मरण गराएकी छन् । उनले लेखेकी छन्, ‘विगत ११ वर्षदेखि तपाईँले उल्लेख गरेको विषयले कार्यकर्ता निराश छन् । मान्छेहरूले पेलिनुको पनि सीमा हुन्छ भनिरहेका छन् । राजनीति विधि र विचारमा आधारित हुनुपर्छ । यी सबैको हिसाब–किताब केन्द्रीय कमिटीले गर्नुपर्छ ।’
तिम्सिनाले दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने, एकनाथ ढकाललाई सांसद बनाउने, साथै राजेन्द्र लिङदेन, कमल थापा, धवलशमशेर राणा र दीपक बोहरासँगको चुनावी गठबन्धन, र भीम रावलको टिकट कटौती तथा पार्टी सदस्यता खोस्ने निर्णयको समीक्षा हुनुपर्ने माग गरेकी छन् । ‘खतराको घण्टी बजेको छ । सच्चिने कि सक्किने भन्ने गम्भीर प्रश्नबाट भाग्ने ठाउँ हामीसँग छैन,’ उनले थपिन्, ‘लालसलाम !’











