काडमाडौं । कांग्रेसको नेतृत्व गृहमन्त्रालय पुगेपछि रुपन्देही जिल्ला भने तस्करीको स्वर्ग बन्ने गरेको छ । त्यहाँ जाने सशस्त्र प्रहरीका एसपीका लागि तस्करीलाई मलजल गर्ने एउटा गतिलो माध्यम बन्ने गरेको छ ।

बालकृष्ण खाणको जिल्लामा हालमा गृहमन्त्री रमेश लेखकले समेत आँखा चिम्लेपछि सशस्त्र प्रहरीमा आइजीपीको निर्दैशनलाई ठाडै उल्लंघन गरे सेटिङमा तस्करीलाई मलजल गरिएको हो । ‘गृहमन्त्रीले पठाएको केही भए खाण हुँदै हुनुहुन्छ’, सशस्त्रका एसपीले यसरी धक्की दिदै तस्करीलाई प्रश्रय दिने गरेको स्रोतको दाबी छ ।
‘यहाँको बैक रोडदेखि फरेनी मर्चबारसम्म राखिएका सबै ट्रकमा तस्करीमा सामान हुनेगर्छन त्यसलाई एसपीकै संरक्षण रहने गरेको छ’,रुपन्देहीबाट सशस्त्र प्रहरीका एक कर्मचारीले भने । सशस्त्र प्रहरीका एसपी अहिले मेखराज जोशी रहेका छन् । उनकै निर्दैशनमा अहिले डन्डाबाट हुने तस्करिमा २७ नम्बर गणका एसपी जोशीले संरक्षण गरिरहेको भन्दै रुपन्देहीका व्यापारीहरूले सशस्त्र प्रहरीका अधिकृतहरुसँग गुनासो गरेपनि एउटा ट्रक रोकिदिन्छु भन्दै धम्क्याएको स्रोतको दावी छ ।
भैरहवा र बुटवलका व्यवसायीहरूले खुला सिमानाको कारण चोरी तस्करी झन् बढेकोले आफ्नो व्यवसाय धरापमा परेको भन्दै चोरी तस्करी रोक्न प्रहरी प्रशासनसँग आग्रह गरिसकेका छन् । व्यवसायीहरुका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्र रुपन्देहीको फरेनी, वैकुण्ठपुर, मर्चवार, महेशपुर, लुम्बिनी, भगवानपुर, ककरहवा लगायतका नाकाबाट खाद्यवस्तु, कपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइल, इलेक्ट्रिक सामानहरूको चोरी तस्करी हुने गरेको छ ।
छड र सिमेन्टबाहेक अन्य सबै खालका सामानहरू यी नाकाबाट तस्करी हुने गरेको छ । सानादेखि ठुला चोरी तस्करीहरू यी नाकाबाट हुने गरेका छन्, यस्तो कार्य प्रहरी प्रशासनको सहयोगबिना सम्भव नभएको स्थानीय व्यापारीहरुले जनाएका छन् ।
स्थानीयहरुले प्रहरीलाई तस्करी रोक्न गरेको आग्रहलाई पनि सशस्त्र प्रहरीका एसपी र डिएसपीले यस्तै हो भन्दै वेवास्था गरेका छन् । खुला सीमाको फाइदा उठाउँदै रूपन्देहीमा विशेषगरी कपडा, सूर्ती, जुत्ता–चप्पल, छालाका सामान, खाद्यान्न, किराना, हार्डवेयरका सामान, मोटर पार्टस्, मेसिनरी सामान लगायत तस्करी हुने गरेको छ ।
त्यस्तै, सुपारी, केराउ, मरिच, चिनियाँ स्याउ, बालुवालगायतका वस्तुहरू नेपालबाट भारततर्फ तस्करी हुने गर्छ । सीमा क्षेत्रममा तस्करीमा सामानहरु ओहोरदोहोर गर्दा पनि सशस्त्र प्रहरी मुकदर्शक हुने गरेको स्थानीयले बताएका छन् । ‘अहिलेको जस्तो यसअघि कहिल्यै भएको थिएन, बुटवल र भैरहवाको व्यापार नै शुन्यमा पुगिसकेको अवस्था छ’, एक व्यापारीले गुनासो गरे । ती व्यापारीको अनुसार वैकुण्ठपुर, मर्चवार, महेशपुर, लुम्बिनी, भगवानपुर, ककरहवा क्षेत्रबाट नीजि गाडीमा तस्करीको सामान आउदासमेत सशस्त्र प्रहरी मुकदर्शक भएर बस्ने गरेको छ ।
‘रिमरिम अँध्यारो भयो कि सामान नेपाल आयो, नेपालबाट भारत गयो’, ती व्यापारीले भने ‘यसले गर्दा मुलुकको राजश्वमा पनि असर परिरहेको छ ।’ सशस्त्र प्रहरीका एक कर्मचारीका अनुसार एसपी जोशीका घुमुवा पनि सक्रिय रहेका छन् । चार महिनादेखि तीन जना घुमुवालाई परिचालन गरिएको छ । ‘एसपीका तीन घुमुवा छन्, बीओपीमा पनि ती घुमुवाकै रेखदेख चल्ने गरेको छ’, ती कर्मचारीको दावी छ ।











