पोखरा । कास्की जिल्लाको बाटुलेचौरमा रहेको १ सय ५० रोपनी जग्गा दर्ता गराउन भूमाफियाहरुले मालपोत र नापी कार्र्यालयमा आफू अनुकूल कार्यालय प्रमुख सरुवा गराउनका लागि घुस डिल गरेको अडियोका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको मन्त्री पद नै चट् भएको छ ।

गुप्तासँग बिचौलियाले गरेको घुस डिलमा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसमेत मुछिए पनि उनले भने अहिलेसम्म पनि राजीनामा दिएका छैनन् । गुप्तासँगको ७८ लाखको घुस डिलमा मन्त्री अधिकारीको नाम पनि बिचौलियाले लिएका छन् ।
भूमि ब्यवस्था मन्त्री अधिकारीले पोखराको बाटु्लेचौरको जग्गा दर्ता गर्नका लागि भूमाफियाको चाहनामा कास्की मालपोत कार्यालयको प्रमुखमा रामचन्द्र अधिकारीलाई नै कायम राख्न ३२ लाखको अर्को अडियो पनि बाहिरिएको छ ।
मन्त्री अधिकारीसँग १ करोड २० लाख रुपैयाँको घुस डिल गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ । जुन अडियोमा भूमि ब्यवस्था मन्त्रालयका यसअघिका सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका निजी सचिव अनिल मरासिनीलाई समेत घुस दिएको सुन्न सकिन्छ । अधिकारी मन्त्री भएपछि न्यूजील्याण्डबाट फर्किएका छोरा मनोज अधिकारीको समेत घुस डिलमा नाम छ ।
तत्कालीन भूमिब्यवस्था मन्त्री रंजिता श्रेष्ठका पालादेखि नै पोखराको बाटुलेचौरको बहुमूल्य जग्गा शाह परिवारको नाममा ल्याउने चलखेलमा सुजन लामाको समूह केही बर्षदेखि नै लागिरहेको छ ।
मन्त्री अधिकारीलाई सेयर दिएर लिचीबारीको जग्गामा चलखेल
मालपोत र नापी कार्यालयमा आफू अनुकूलको प्रमुख ल्याएर बाटुलेचौरको १ सय ५० रोपनी जग्गा शाहहरुको नाममा दर्ता गर्न एमालेका आदिबासी जनजाति नेता सुजन लामा लागेका लाग्यै छन् । यो काम गराउन नमानेपछि सुजन लामाले एक बर्षअघि नै नापी कार्यालय कास्कीका प्रमुख नापी अधिकृत नरबहादुर चन्दलाई हटाएर नापी कार्यालय कावासोतीका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीलाई ल्याउने प्रयास गरेका थिए ।
मिडियाको खबरदारीपछि लामा सफल हुन सकेका छैनन् । लिचीबारीको काम अगाडि बढाउन नमान्दा पूर्व भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ र हालका मन्त्री बलराम अधिकारीको जोडबलमा नापी कार्यालय कास्कीका नापी अधिकृत दिनेश लामिछानेलाई दुई वर्ष नपुग्दै नापी कार्यालय पर्वत हुत्याइयो ।
यसरी नै भूमि आयोगको काममा असहयोग गरेको बाहाना बनाई प्रमुख नापी अधिकृत नरबहादुर चन्दलाई अवधि नपुग्दै नापी विभाग हुत्याएर गैरकानूनी काम गर्न तम्तयार रहेका नापी कार्यालय चितवनका प्रमुख नापी अधिकृत सुवास भण्डारीलाई नापी कार्यालय कास्की ल्याइएको छ ।
जबकि, आयोगको काममा पालिकाहरुबाट सबै प्रक्रिया पूरा भएर आएपछि मात्र आयोगको जिल्ला समितिको काम सुरु हुने हो, कास्की जिल्लामा हालसम्म कुनै पनि पालिकाबाट पनि प्रक्रिया पूरा गरी आयोगको जिल्ला समितिमा विवरण एवं कागजात प्राप्त भएको छैन ।
भूमि ब्यवस्था मन्त्री अधिकारीले पोखराको बाटु्लेचौरको जग्गा दर्ता गर्नका लागि भूमाफियाको चाहनामा कास्की मालपोत कार्यालयको प्रमुखमा रामचन्द्र अधिकारीलाई नै कायम राख्न ३२ लाखको अर्को अडियो पनि बाहिरिएको छ ।
आयोगको काममा असहयोग गर्यो भन्नु त बहानामात्र थियो । खासमा लिचीबारीको काममा नापी अधिकृत दिनेश लामिछाने र प्रमुख नापी अधिकृत नरबहार चन्दलाई हटाउनु थियो । कास्की जिल्ला हालको पोखरा महानगरपालिका वडा न. १६ साविकको बाटुलेचौर वडा नं. १ को जग्गामा हालका बहालवाला मन्त्री बलराम अधिकारीलाई २५ प्रतिशत शेयर दिने गरी ‘सेटिङ’ मिलाएको स्रोत बताउँछ ।
२ सय रोपनीमा ५० रोपनी दुर्गादेवी शाह, लोकदिब्यश्वरी शाह लगायतका हकवालाले खाने र १ सय ५० रोपनीमा भूमाफिया सुजना लामा, पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, बहालवाल मन्त्री बलराम अधिकारी, निजी सचिव अनिल मरासिनी, कबिसिंह कठायत लगायतले भाग लगाएर खाने हुन् । उक्त क्षेत्रमा चलनचल्तीमा रोपनीको ४ करोड रुपैयाँ पर्दछ । स्रोतका अनुसार मन्त्री बलराम अधिकारीको भागमा ३७ रोपनी आठ आना पर्दछ । ३७ रोपनी आठ आनाको मूल्य करिव १ अर्ब ५० करोड पर्दछ ।
मन्त्री बलराम अधिकारीले १ अर्व ५० करोडको लोभमा नापी अधिकृत दिनेश लामिछाने र प्रमुख नापी अधिकृत नरबहादुर चन्दलाई नापी कार्यालय कास्कीबाट हटाए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको अडियो काण्ड यसैसँग सम्बन्धित छ ।
मन्त्री बलराम अधिकारीले मालपोत कार्यालय कास्कीका प्रमुख चिरञ्जीवी पौडेललाई कास्कीमा लैजाँदा मन्त्रीका भाइ र निजी सचिव अनिल मरासिनीमार्फत् ७० लाख बुझेको आरोपसमेत रहेको छ ।
बलरामले पैसा खाइसकेको छ, काम गर्दैन भनी अडियोमा भनिएको विषय यही हो । मन्त्री बलराम अधिकारीको यस्ता दर्जनौं घुसकाण्डहरु छन्, जुन रेकर्डेड छन् भनिएको छ, समयसँगै सामान्य प्रशासन मन्त्रीको जस्तै बलराम अधिकारीको समेत घुस डिलको अडियो बाहिर आउँदै जाने निश्चित छ । १ करोड २० लाख घुस डिलको भिडियो आइसकेको छ ।
पोखरा महानगरपालिका वडा नं. १४ स्थित साविक छिनेडाँडा–१ को कि.नं. ९७५ को पच्चीसौं करोड पर्ने नारायणथान गुठीको करिव ९ रोपनी जग्गा मन्दिरका पूजारी पुष्पराज लामिछानेले बिक्री गरेको र सो जग्गा ब्यक्तिकै नाममा कायम गराउन भूमाफिया सुजन लामाले पुष्पराज लामिछानेसँग करोडौं रकम लिई चलखेल गरिरहेको बुझिएको छ ।
यसरी नै हाल पोखरा–१४ साविक छिनेडाँडा हालको अन्तर्राष्ट्रिय विमास्थलको दक्षिणमा रहेको अरबौ रुपैयाँ पर्ने करिव १४ रोपनी साविकको सरकारी पर्ति जग्गा रामबहादुर गुरुङको नाममा कायम गराउन गुरुङको परिवारबाट करोडांै रकम लिएको बुझिएको छ ।
यसरी भूमाफिया सुजन लामाले गुठीका जग्गा, सरकारी जग्गा विभिन्न ब्यक्तिका नामका जग्गा अन्य ब्यक्तिमा कायम गराउने छुट जग्गा दर्ता गराइदिने नाममा अरबौं रकम उठाएको र सो रकममध्ये केही रकम मन्त्री बलराम अधिकारीको पेटमा परेकोले भूमाफिया सुजन लामाले भने अनुसार कर्मचारी सरुवा गराउने कार्य मन्त्री बलराम अधिकारीले गरिरहेका छन् ।
यसरी भूमाफियाहरुसँगको मिलेमतोमा सेटिङ गरी कर्मचारीहरुको सरुवा गर्न गराउन रकम उठाउने जिम्मेवारी मन्त्री बलराम अधिकारीले निजी सचिव अनिल मरासिनी, स्वकीय सचिव भेषराज पाण्डे र कवि सिंह कठायतलाई दिएको स्रोतले बताएको छ । निजी सचिव अनिल मरासिनी, स्वकीय सचिव भेषराज पाण्डे र कविसिंह कठायतले भूमाफिया सुजन लामासँग लाखौं रकम उठाएर मन्त्री बलराम अधिकारीलाई बुझाएको स्रोतको दाबी छ ।
मालपोत कार्यालयका खरिदारदेखि नायबसुब्बा, अधिकृत र उपसचिवको सरुवामा दररेट तय गरी सरुवा हुँदैआएको छ । गएको असोजमा मालपोत कार्यालयका ४ सयभन्दा बढी सरुवामा दररेट तय गर्दै ६ करोड रुपैयाँ घुस संकलन गरेको आरोप लागेको थियो ।
बिचौलिया प्रमोद खड्काले दररेट अनुसार संकलन गरी तयार गरेको सूची मन्त्री अधिकारीले भूमि ब्यवस्थापन तथा अभिलेख बिभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटालाई दिए । त्यही सूचीअनुसार सापकोटाले सरुवा गरेकोमा मन्त्रीले पानीमाथिको ओभानो बन्न सापकोटातिर दोष थोपरेका थिए ।
असोजयता पनि बिचौलिया खड्काले मालपोतका कर्मचारीको सरुवा सूची बनाउँदै सामान्य प्रशासनबाट सरुवा गराउने र लाखौं लाख मोलतोल गर्दै मालपोतमा सरुवा गराउँदै घुस संकलन गरी मन्त्री अधिकारीलाई बुझाउने गरेको समाचार बारम्बार दृष्टिले प्रकाशित गर्दैआएको छ ।
भूमि समस्या समाधान आयोगको जिल्ला अध्यक्ष र सदस्य नियुक्तिमा समेत मन्त्री अधिकारीले निजी सचिव अनिल मरासिनीमार्फत् ब्यापक रकम उठाइएको छ, जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख दिनुपर्ने अडियोमा स्पष्ट सुन्न सकिन्छ, यसबाट के बुझिन्छ भने सबै नियुक्तिमा मन्त्री बलराम अधिकारीले ब्यापक घुस उठाएका छन् ।
भक्तपुुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य मंगलबार २४ लाख ५० हजार सहित पक्राउ परे । उनलाई भक्तपुर मालपोतमा सरुवा गराउन मन्त्री अधिकारीका निजी सचिव अनिल मरासिनीले ठूलो रकम लिएको आरोप लागेको थियो । मरासिनीमार्फत् मन्त्रीलाई दिएको रकम उठाउन गुठीको विवादास्पद जग्गा दर्ता गर्ने क्रममा आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको थियो ।
एमालेका महासचिव शंकर पोखरेलको कोटामा मन्त्री भएका अधिकारीले उनकै सिफारिसमा नापीका कर्मचारी कविसिंह कठायतलाई पनि सचिवालयमा राखेका छन् । महासचिव पोखरेलको नाम लिंदै कविसिंहले सरुवामा रकम उठाउने गरेका छन् ।
भूमाफियाले निम्त्याएको बाटुलेचौरको जग्गा विवाद, के हो वास्तविकता ?
कास्की जिल्ला हालको पोखरा महानगरपालिका वडा नं. १६ साविकको बाटुलेचौर वडा नं. १ दिपदेखि उत्तर–पश्चिम लामाचौर चोकदेखि दक्षिण पूर्व दिपदेखि लामाचौर जाने मूलबाटोको उत्तर–पूर्व र दिपदेखि बाटुलेचौर जाने मूलबाटोको दक्षिण पश्चिमको करिव २ सय रोपनी जग्गामा धेरै भागमा लिचीको बगैंचा रहेको छ । त्यहाँ फाट्टफुट्ट घरहरु रहेको देख्न सकिन्छ ।

नापी कार्यालय कास्कीको फिल्डबुक अध्ययन गर्दा २०३१ सालमा नापजाँच भई शुरु नापीकै समयमा विभिन्न ब्यक्तिको नाममा जग्गा दर्ता भएको देखिन्छ ।
लिचीबारी क्षेत्रको जग्गा शुरु नापीकै बखत २०३१ सालमा जग्गा (नाप जाँच) ऐन, २०१९ एवं जग्गा (नाप जाँच) नियमावली, २०५८ को सम्पूर्ण प्रक्रिया पूरा गरी सोही समयमा विभिन्न ब्यक्तिहरुको नाममा जग्गा दर्ता भइसकेको थियो । विभिन्न ब्यक्तिको नाममा लिखत पारित भई हकहस्तान्तरण हुँदै आएको, पुनः नापीसमेत भई साविक नापीको प्रमाणको आधारमा विभिन्न ब्यक्तिहरुको नाममा जग्गा दर्ता भइसकेको छ ।
अदालतबाट अन्तिम फैसला भएको ३५ बर्षपछि फैसला कार्यान्वयनका लागि आएकोले लामो समयसम्म कुनै हक प्रयोग नगरिएको अवस्थामा प्रेस्क्रिप्सनको सिद्धान्त (Law of Prescription) बमोजिम त्यो हक कानूनी रुपमा समाप्त भइसकेको देखिन्छ । यसमा विलम्बको सिद्धान्त (Doctrine of Laches) समेत आकर्षित हुन्छ । यसमा हदम्यादको उल्लंघन भएकोले फैसला भएको ३५ वर्षपछिको कार्यान्वयन कानूनी रुपमा अमान्य हुन्छ ।
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस डिलपछि राजीनामा दिए उत्तिकै दोषी भूमिब्यवस्था मन्त्री बलराम अधिकारीले राजीनामा दिएा छैनन् । मधेशी समुदायका भएकाले गुप्तालाई राजीनामा गराएको तर घुसकाण्डमा उत्तिकै दोषी बलराम अधिकारीलाई जोगाउनु नहुने स्वतन्त्र सांसद अमरेशकुमार सिंह बताउँछन् । उनले भने– भूमिब्यवस्था मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।











