काठमाडौं । कार्यसम्पादन क्षमता कमजोर भएका केही जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन गर्नुपर्ने दबाबमा गृहप्रशासन पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले सादा पोशाकमा जम्बो टोली नै खटाएर अतिरिक्त लाभको अभियानलाई तीव्रता दिएको गुनासो गृहमन्त्रालयमै पुगेको छ । परिसरमा विश्व अधिकारी आउनुअघि एक प्रहरी निरीक्षकको नेतृत्वमा सूचना संकलनका लागि सादा पोशाकमा प्रहरी खटाउने गरिएको थियो ।
अधिकारीले ‘कमाण्ड’ सम्हालेपछि डीएसपी प्रल्हाद केसीको नेतृत्वमा ३ जना इन्स्पेक्टरको टोली खटाएका छन् । सादा पोशाकमा खटाइएको टोलीमा विवादित इन्स्पेक्टर शत्रुघन महतो मुख्य रुपमा परिचालित छन् । उनी एसएसपी अधिकारीका निकै विश्वासिला मानिन्छन् ।
इन्स्पेक्टर महतोका अतिरिक्त इन्स्पेक्टरद्वय सुरज खड्का र वाङगेल लामा पनि सादा पोशाकमै खटाइएका छन् । एसएसपी अधिकारीले महाराजगंज बृत्त अन्तर्गत टोखा र नयाँबसपार्कमा रहँदा विवादमा परेका बरिष्ठ सई राजन ढ्ुंगानादेखि अर्जुन सेट्ठी, माधव थापाहरुको टोली खटाएका छन् । यीमध्ये कतिपयले काठमाडौं सरस्वतीनगरमा एक पसलबाट महिलाको सुनको सिक्री लुटपाट गरी हत्या गर्ने अपराधी पत्ता लगाएका छन् ।
त्यसो त एसएसपी अधिकारीले डीएसपी बिष्णु सोतीलाई ल्याएर मुद्दाफाँटको जिम्मा दिएका छन् । अर्का डीएसपी निर्मल पनेरुले लेनदेन मुद्दामा कतिपय निरपराध ब्यक्तिलाई समेत दुःख दिने काम गरेको आरोप छ ।
भावी आईजीपीका दाबेदार मानिएका एसएसपी अधिकारीको कमाण्डमा रहेका सादा पोशाकमा खटिएका प्रहरीले काठमाडौं उपत्यकाका क्यासिनोहरुमा नेपाली प्रवेश गर्न दिएर समेत मासिक आर्थिक लेनदेन गरेको आरोप छ । भारतीय नक्कली कार्ड बनाएर क्यासिनो माजोङदेखि बेल्लिजमा नेपालीहरु जुवा खेल्न जाने गरेका छन् । प्रहरीको सेटिङमा क्यासिनोमा नेपालीको प्रवेश खुकुलो बनाउन मासिक रुपमै बोलकबोल हुने गरेको स्रोत बताउँछ ।
सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले खटाएका कतिपय चौकीका इन्चार्जहरुको घुस डिल गरेको भिडियो छताछुल्ल भएको र २ महिनाअघि गोडैताबाट ६ गाडी तस्करीको स्याउ भारतीय अर्धसैनिक बल(एसएसबी)ले फर्काएको बिषयले पनि उनको कमाण्ड कन्ट्रोलमा प्रश्न उठेको छ ।
पटकपटक निलम्बनमा परेका वैद्यनाथ दास, रामबालक यादव जस्ता जुनियर अधिकृतलाई चौकी इन्चार्जको जिम्मा दिएर खुलेआम तस्करीको लाइन चलाएको आरोप उनीमाथि छ ।
मोरङका एसपी नारायण चिमरियाको बारेमा पनि धेरै गुनासा आएकाले उनी पनि परिवर्तन हुने सूचीमा छन् । उनी गएको कात्तिक ५ गते मोरङको एसपीमा खटिएका थिए ।
धनुषाका एसपी नरहरि शर्मा, बाँकेका रामबहादुर घर्ती, कन्चनपुरका खड्कबहादुर खत्री, रुपन्देहीका प्रदीप क्षेत्रीको पनि प्रहरी मुख्यालयले विकल्प खोजी गरिरहेको छ । कन्चनपुरका केही समयअघि भएको शिक्षकको हत्या, बाँकेमा तस्करी बढेको र रुपन्देहीमा घुमुवाहरुको असुली विवाद परेकाले पनि प्रहरी नेतृत्व ती जिल्लाको कमाण्ड नै फेर्ने तयारीमा रहेको बताइन्छ ।











