Logo
Logo

कांग्रेसका चार नेताबीच के छलफल भयो ? 


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग साढे दुई घण्टा लामो छलफल भएको छ । देउवा निवास बूढानीलकण्ठमा बिहान १० बजेदेखिको बैठक साढे १२ बजेसम्म चलेको थियो । 

The current image has no alternative text. The file name is: congress.jpg

बैठकमा पार्टीमा देखिएको क्रियाशील सदस्यता नवीकरणको विवाद, १५ औँ महाधिवेशनको प्रक्रिया, अन्तिम पटकका लागि भन्दै म्याद थपिएका ७ भ्रातृ संस्थाको महाधिवेशन गराउने जिम्मेवारी दिइएको ‘महाधिवेशन निर्देशन समिति’लाई दिने टिओआर, पार्टीका जिल्ला जिल्लामा देखिएको विवादबारे गहन छलफल भएको महामन्त्री थापाले जानकारी दिए ।  थापाका अनुसार छलफल पार्टीका आन्तरिक विषयमा केन्द्री रहेको थियो । 

बैठकमा गत असार १६ गतेदेखि २३ गतेसम्म बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता टुङ्ग्याउने समय असार मसान्तबाट बढाएर असोज मसान्तसम्म पुर्‍याएको थियो । त्यो अवधिसम्म कसरी जिल्ला जिल्लामा देखिएको क्रियाशील सदस्यता नवीकरणसम्बन्धी विवाद मिलाउने भन्नेबारे छलफल भएको हो । 

कांग्रेसको देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मङ्सिरमा सकिँदै छ । मङ्सिरसम्म १५ औँ महाधिवेशन गरिसक्नु पर्ने भए पनि अहिलेसम्म प्रक्रिया सुरु भएको छैन । यसबारे के गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि चार नेताबिच कुराकानी भएको छ । 

केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन गर्न नसकेका ७ भ्रातृसंस्था नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल थारु सङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको म्याद अन्तिम पटकका लागि थप्ने निर्णय गरेको थियो ।

बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ सङ्घहरूको हकमा कार्यतालिकामा तोकिएको मितिसम्म समयावधि थप गर्ने निर्णय गर्दै प्रस्तावित कार्यतालिका बमोजिम महाधिवेशन सम्पन्न गर्न निर्देशक समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरी निर्देशन समितिले गर्नुपर्ने कामका सन्दर्भमा पार्टीको तर्फबाट कार्यादेश उपलब्ध गराउने निर्णय गरेको थियो । त्यो टिओआर पार्टीले अहिलेसम्म नदिएकोमा कसरी दिने भन्नेबारे पनि बैठकमा छलफल भएको थापाले बताएका छन् । 

केही जिल्लामा महाधिवेशन विवाद समाधानका लागि अर्को साता एक दिनमा एक जिल्लाका पदाधिकारीलाई काठमाडौं बोलाएर छलफल गरी समस्याको समाधान गर्न पहल गर्ने बैठकले निर्णय गरेको छ । सभापति देउवाको समय हेरेर दिनदिनै बोलाएर समस्याको समाधान गर्ने पहल गर्ने सहमति जुटेको छ । 

प्रतिक्रिया दिनुहोस्