काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच शुक्रवार हात्तीवनस्थित श्रेष्ठको निवासमा भेटवार्ता भएको छ ।

करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति, कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पार्टी एकताको सम्भावनाबारे गम्भीर छलफल भएको श्रेष्ठले बताए ।
भेटमा विभिन्न राजनीतिक दलहरूको भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश र भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारमा विचार-विमर्श भएको छ ।
त्यस्तै, माओवादी केन्द्रले हालै पारित गरेको पार्टी एकताको प्रस्ताव र यसको औचित्यबारे पनि दुवै नेताले विस्तृत कुराकानी गरेका जनाइएको छ । यसअघि, श्रावण २१ गते श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच पनि समसामयिक राजनीतिक परिस्थिति र कम्युनिष्ट आन्दोलनको दिशामा छलफल भएको थियो ।














