काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानमा उल्लेख आदिवासी जनजातिको अधिकारलाई थप संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

३१ औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतन्त्रवाद आदिवासी जनजाति महासङ्घले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले विभिन्न आन्दोलनबाट संविधानमा प्राप्त अधिकारलाई थप संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले आदिवासी जनजातिको अधिकारका बिषयमा कांग्रेसले घोषणापत्रमार्फत नै प्रतिबद्धता जनाएको बताए । संविधानको प्रस्तावनामा नै सवैप्रकारको विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको विषय उल्लेख भएको उनको भनाइ छ । सभापति देउवाले आदिवासी जनजातिको आत्मसम्मान र सहअस्तित्वका लागि कांग्रेस सदैव संवेदनशील रहेको समेत बताए ।
त्यस्तै उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले प्राप्त गरेको अधिकारलाई सबैले बुझ्नुपर्ने बताए । कांग्रेसको नेतृत्वमा संविधान जारी गरेपछि आदिवासी जनजातिले अधिकार प्राप्त गरेको भन्दै यसलाई प्रयोग गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । उनले राज्यको हरेक निकायमा आदिवासी जनजाति प्रतिनिधित्व बढ्दै गए पनि त्यतिमा नै चित्त बुझाएर बस्ने अवस्था भने नरहेको बताए ।
त्यस्तै गृहमन्त्री रमेश लेखकले अहिलेका व्यवस्थाले सबै जातजाति, समुदाय सबैको अधिकार र पहिचान स्थापित गरेको भन्दै संविधान बदल्ने कुरा कसैको पनि हितमा नहुने बताए । समावेशी चरित्रको व्यवस्थालाई थप उन्नत ढङ्गले अगाडि बढाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
उनले वर्तमान सरकार अहिलेको व्यवस्थाको रक्षा गर्दै संविधानको कार्यान्वयन गर्न दृढताका लागि परेको बताए । कार्यक्रममा आदिवासी जनजातिका मौलिक कला संस्कृति प्रस्तुत गरिएको थियो ।











