हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतका लागि तीन बुँदे ह्वीप जारी गरेको छ । २७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने कार्यक्रम छ ।

प्रदेश सभा सचिवालयले सोही दिन दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेको छ । ललितपुरको भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता तथा प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मतदान गर्ने गरी तीन बुँदे ह्वीप जारी गरिएको छ । बैठकले मुख्यमन्त्री बानियाँको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
साथै, लामिछानेलाई प्रवक्ता तोक्ने र तीन सदस्यीय अनुशासन समिति गठन गर्ने निर्णय भएको छ। अनुशासन समितिमा लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् ।
यस्तै, २७ साउन दिउँसो १ बजे हेटौंडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा अर्को बैठक बोलाउने निर्णय भएको लामिछानेले बताए । यसैबीच, मुख्यमन्त्री बानियाँको नेतृत्वमा भैंसेपाटीमा बैठक चलिरहँदा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले काठमाडौंमा छुट्टै बैठक राखेको छ ।
विश्वासको मतसम्बन्धी छलफलका लागि लामा पक्ष जुटेको जनाइएको छ । बानियाँले २० साउनमा मन्त्री नियुक्ति गर्दा लामा पक्षका तीन जनालाई मन्त्री बनाउने सहमति पालना नगरेको भन्दै लामा पक्ष असन्तुष्ट छ ।











