काठमाडौं । नेपाल शिक्षक महासङ्घकी सचिव कल्पना पनेरूले प्रतिनिधिसभाको शिक्षा समितिमा छलफलरत शिक्षा विधेयक शिक्षकहरूलाई स्वीकार्य नभएको बताएकी छन् ।

शनिवार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनले उक्त विधेयकप्रति असहमति जनाउँदै महासङ्घ आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको उल्लेख गरिन् ।
पनेरूले शिक्षा क्षेत्रमा अराजकता र मनोमानी बढिरहेको तथा गणतान्त्रिक नेपालमा पञ्चायतकालीन शिक्षा ऐनलाई आ–आफ्नो अनुकूल व्याख्या गर्ने प्रवृत्ति कायम रहेको बताइन् । शिक्षा समितिले विधेयक अघि बढाउँदा महासङ्घसँग विभिन्न मितिमा भएका सम्झौताहरूलाई बेवास्ता गरेको उनको आरोप छ ।
उनले अस्थायी शिक्षकहरूको न्यायपूर्ण समायोजन हुनुपर्ने र ६० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धाको व्यवस्था स्वीकार्य नभएको प्रस्ट पारिन् ।














