Logo
Logo

संदिग्ध सल्लाहकारको घेरामा ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा दुई अध्यक्षबीच चुलिएको विवाद समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई भदौ ६ गते बुझाएको छ । उक्त प्रतिवेदनमाथि छलफल गर्न र प्रतिवेदन कार्यान्वयन गर्न नेकपा सचिवालय बैठक भदौ १८ गते बिहीबार बोलाइएको छ । उक्त बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक अंगको नियुक्ति, राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । दोस्रोपटक दुईतिहाइ सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश शैलीका कारण नेकपाभित्र असहज परिस्थिति उत्पन्न भएको ठहर कार्यदलले गरेको छ । अहिले देखिएको विवाद समाधान गर्न कार्यदलले प्रधानमन्त्री ओलीलाई विधि र पद्धतिमा बाँध्न खोजेको छ । विगतमा प्रधानमन्त्री ओलीले आफूखुशी मन्त्री, राजदूत, विभिन्न राजनीतिक नियुक्तिहरु गर्दै आएका थिए । ती नियुक्तिहरु विवादमा परेकोले पार्टीसमेत बदनाम हुन पुगेको थियो । त्यसैले अबदेखि मन्त्रिमण्डलको हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीको भए पनि पार्टीको सल्लाहमा योग्यता, क्षमता र आचरण हेरेर मात्र मन्त्री, राजदूत र अन्य नियुक्ति गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ ।

प्रधानमन्त्री ओलीको लागि कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने उपयुक्त मौका अहिले आएको छ । ओलीले विगतमा गरेका कमी कमजोरी सच्याउँदै सबैलाई समेटेर अगाडि बढ्न सक्यो भने नेकपाभित्रको विवाद हल हुँदै जानेछ । अन्यथा, कार्यदलको यो रिपोर्ट पनि ‘हात्ती आयो फुस्सा’ जस्तै हुनेछ । त्यस्तो अवस्थामा ओली संकटमा फस्नेछन् । किनभने, सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीका बहुमत सदस्यहरु ओलीको निरंकुश शैलीको विपक्षमा छन् । नेकपाका बहुमत सदस्यहरु पार्टीलाई विधि र पद्धतिसम्मत ढंगले अगाडि बढाउनुपर्ने पक्षमा छन् । तर, ओलीले कार्यदलको प्रतिवेदन मान्छन् कि मान्दैनन् भन्ने कुरा भदौ १८ गते बस्ने सचिवालय बैठकबाट उनले अर्थमन्त्री खतिवडालाई पुनः राष्ट्रियसभा सदस्यमा दोहो¥याउँछन् कि दोहो¥याउँदैनन् भन्नेबाट स्पष्ट हुनेछ । नेकपाका अधिकांश शीर्ष नेताहरु खतिवडालाई दोहो¥याउन नहुने अडानमा छन् भने ओली आफू अर्थशास्त्रमा कमजोर भएकोले उनी खतिवडाको वैशाखी टेक्न बाध्य छन् । ओली आफ्नै कारणले भन्दा पनि बढी युवराज खतिवडाजस्ता व्यक्ति र उनका सल्लाहकारहरुका कारण विवादित बन्दै गएका छन् । पछिल्लो समय ओली आफ्ना सल्लाहकारहरुको संदिग्ध क्रियाकलापले बढी बदनाम भएका छन् । ओलीको किचेन क्याबिनेटबाट सबै सूचना चुहिन थालेका छन् । जसले गर्दा दुवै छिमेकी ओलीसँग झस्कनुपर्ने अवस्था सिर्जना भएको छ ।

ओली आफ्नै कारणले भन्दा पनि बढी युवराज खतिवडाजस्ता व्यक्ति र उनका सल्लाहकारहरुका कारण विवादित बन्दै गएका छन् । पछिल्लो समय ओली आफ्ना सल्लाहकारहरुको संदिग्ध क्रियाकलापले बढी बदनाम भएका छन् । ओलीको किचेन क्याबिनेटबाट सबै सूचना चुहिन थालेका छन् । जसले गर्दा दुवै छिमेकी ओलीसँग झस्कनुपर्ने अवस्था सिर्जना भएको छ ।

सल्लाहकारका कारण ओलीले दोस्रो कार्यकालमा आफ्नो लय गुमाउँदै गएका छन् । उनको गतिविधि सत्ता टिकाउन र विरोधीलाई साइजमा ल्याउन केन्द्रित हुन थालेको छ । जसका कारण नेकपा दुईपटक दुर्घटनाको नजिक पुग्यो । धन्न दुर्घटनाबाट नेकपा जोगिएको छ र खतरा टरेको मात्र छ । अझै पनि संकट सामुन्नै छ । तर, ओलीमा नेकपाभित्र आन्तरिक व्यवस्थापन र सबैलाई सम्मानजनक स्थान दिई मिलाएर जाने भन्दा पेलेर र फुटाउँदै राज गर्ने नियत देखिदैछ । यसको दुरगामी असर आउँदो चुनावमा देखिनसक्छ । तर ओलीले चाहिँ अर्को अढाई वर्ष टिकौं अनि जे होला होला भन्ने जस्तो गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीका सल्लाहकार टोली कर्तव्य निर्वाह गर्नेभन्दा आक्रोश पोख्दै हिंडेका छन् । सामाजिक सञ्जाल र मिडियामा छापिएका खबरहरुलाई लिएर पदमा बसेर लेख्न नहुने र बोल्न नहुने गरी अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारको गलत गतिविधि र प्रधानमन्त्रीको टिममा रहेकाको गलत गतिविधिलाई लिएर लेख्ने सञ्चारमाध्यमप्रति आक्रोश पोखेका छन् । उनले आलोचना गर्ने ‘अनलाइन’ पत्रिकाहरुलाई ‘पानी अनलाइन’ भन्दै योजनावद्ध रुपमा चरित्रहत्यामा लागेको आरोप लगाएका छन् । चरित्र शिकारका लागि यस्ता अनलाइन तयार पारिएको भन्दै प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईविरुद्ध नियोजित रुपमा प्रहार भएको टिप्पणी गरेका छन् ।

भट्टराईले नेपाल भारत प्रबुद्ध समुहको सदस्यका रुपमा काम गरिरहँदा चिनियाँ राजदुतावासबाट नेपाल भारत सम्बन्धी रिसर्चका लागि कार्यक्रम प्रस्ताव तयार गरी १५ लाख रुपैयाँ सन् २०१७ मा लिएको खुलासा भएको छ । कुनै एक छिमेकीसँगको प्रबुद्ध समुहमा बसेको व्यक्ति अर्को देशसँग केही लाख लिएर रिसर्च तथा सेमिनारका नाममा पैसा लिनुलाई नैतिक मूल्य मान्यतासँग जोडेर मात्र हेरिएको छैन, यसमा कन्फिल्क्ट अफ इन्टरेस्टको विषय पनि उठेको छ । बौद्धिक क्षेत्रमा कन्फ्ल्क्टिि अफ इन्टरेष्टले विशेष महत्व राख्छ । पैसा नै लिएको स्पष्ट भएपछि डा. भट्टराईले नलिएको भन्न सकेका छैनन् । बरु आफूले राष्ट्रलाई घात हुने काम नगरेको र प्रबुद्ध समुहको जिम्मेवारी लिएको बेला त्यसले निर्धारण गरेको आचारसंहिता र नियमलाई उल्लंघन हुने काम नगरेको दाबी गरेका छन् । आचारसंहितामा उल्लेख नभएको भएपनि कुनै एक देशसँगको सन्धी पुनरावलोकनको विषयमा सुझाव प्रतिवेदन तयार गरिरहँदा तेस्रो देशबाट रकम लिएर उक्त देशको सम्बन्धसम्बन्धी कार्यक्रम गर्नु सरासर गलत देखिन्छ । यहाँ भारतसँगको सन्धी पुनरावलोकनबारे सुझाव प्रतिवेदन तयार हुँदै गर्दा उक्त समुहको सदस्यले चीनसँग पैसा लिएर भारतसँगको सम्बन्धबारे सेमिनारलगायत कार्यक्रमका लागि पैसा लिएको देखिन्छ । यसले नेपाल भारतसम्बन्धमा असर पर्न सक्छ । भारतसँगको सम्बन्धमा नकारात्मक घटनाक्रम विकास हुनु र प्रधानमन्त्रीको विदेश मामला सल्लाहकारमा विवादास्पद कार्य गर्दै हिंड्ने र कुनै छिमेक विशेषलाई चिढ्याउने गतिविधि गर्ने व्यक्ति रहनु संयोग मात्र नरहनसक्छ । प्रधानमन्त्रीको सल्लाहकार टिमका कतिपय सदस्य देशहितमा भन्दा पदको दुरुपयोग गरेर आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित भइरहेको प्रमाणित भइसकेको छ । यसले छिमेकसँगको सम्बन्धमा अझ टकरावहरु आउने घटना भविष्यमा झन् बढ्दै जानसक्छ ।

प्रधानमन्त्रीका सल्लाहकारहरु ओलीलाई सहयोग गर्नुभन्दा आफ्नो धन्दामा केन्द्रित रहेको विभिन्न समयमा भएका ठेक्कापट्टालगायतका गतिविधिलेत छर्लङ्ग हुन्छ । आइटी विज्ञ अस्गर अलीले अधिकांश सरकारी आइटीसम्बन्धी काममा एकछत्र प्रभाव बनाउन सफल भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सूचना प्रणाली आधुनिकीकरण गर्न र अध्यागमन प्रणाली सफ्टवेयरको निर्माणको जिम्मा उनले आफूले खडा गरेको कम्पनीले पाएका छन् । राष्ट्रिय परिचयपत्रलगायत विभिन्न काममा उनको स्वार्थ अनुसार काम भएको खुलिसकेको छ । यतिसम्मकी, अवैध मानिएको बिटक्वाइन कारोबारमा अस्गर सीइओ रहेको ई सेवा संलग्न भएको पाइएको छ । उनको विद्युतीय अनलाइन भुक्तानी प्रणाली ई सेवालाई अवैध धन्दाबाट चोख्याइएको रहस्य खुलिसकेको छ । उनले कतिपय व्यक्तिगत विवरणको डाटा समेत खास स्वार्थमा हात पारेको विषय पनि बाहिर आयो । यसरी प्रधानमन्त्रीका सल्लाहकार टोली शंकास्पद कामहरुमा संलग्न भइरहेका छन् । उनीहरुको खास स्वार्थ के के हुन् खुल्दै गएको छ । तर, प्रधानमन्त्री ओली तिनको बचाऊमा निरन्तर लागेका छन् ।

ओलीले हालै एक अन्तवार्तामा अनैतिक तत्वहरु कुप्रचारमा लागेको भन्दै आफू र आफ्नो सल्लाहकार टिमबारे सार्वजनिक भइरहेका खबरहरुको खण्डन गरेका छन् । यस्ता प्रचारलाई देशप्रति नै कुनियतले गरिएको दुष्प्रचारको संज्ञा दिएका छन् । उनको स्पष्ट संकेत फ्रान्सबाट सञ्चालित ग्लोबल वाच एनलिसिसको उनी र उनका सल्लाहकार डा. भट्टराईबारे प्रकाशित रिपोर्टबारे थियो । यसबाट ओलीले जतिसुकै ठुलो गल्ती गर्ने आफ्ना मान्छेलाई जसरी पनि बचाऊ गर्छन् भन्ने सन्देश प्रवाह भएको छ । यसले दिनप्रतिदिन उनको साख गिर्दै गएको छ । पछिल्लो समय नयाँ नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएर उचाई हासिल गरेका ओली निरन्तर गिर्दो साखले कमजोर बन्दै गएका छन् । त्यसको भेउ उनले पाइरहेका छैनन् । या त उनका सल्लाहकारहरु घेराबन्दीमा पारेर सबै ठिक छ भन्दै बादशाहको पोशाकको प्रशंशा गरे जसरी भ्रममा पारिरहेका छन् ।

प्रधानमन्त्री ओलीको पछिल्ला अभिव्यक्तिहरु केलाउँदा ओली आफूले अढाई वर्ष शासनमा रहँदा गरेका त्रुटीहरुको ढाकछोपमा केन्द्रित हुन थालेका छन् । गल्ती सच्याउँदै जानेभन्दा कुनै गल्ती गरिएको छैन जसरी प्रस्तुत भएका छन् । उनी पार्टी र सरकार दुवैतर्फ विस्तारै रक्षात्मक बन्दै गएका छन् । तत्काल उनले पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल गठन गरेर सत्ता संकट टारेर सफलता हासिल गरेको देखिए पनि उनको गिर्दो साखले व्यक्तिगत राजनीतिलाई मात्र नभई सिंगो नेकपालाई समेत भविष्यमा ठुलो असर पार्न सक्छ । यही कुरालाई मनन गरेर सिंगो नेकपाका नेता, कार्यकर्ता चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्