Logo
Logo

अनुसन्धानमा सेनाका जर्नेल


10.1k
Shares

काडमाडौं । नेपाली सेनामा सामान सप्लाई गर्ने ठेकेदारहरु र ती ठेकेदारलाई सहयोग गर्ने सेनाका उच्च अधिकृतहरु छानवीनमा परेका छन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सेनाभित्र आर्थिक अनियमितता गरेको भन्दै उच्च अधिकारीमाथि कारबाही अघि बढाएका छन् ।

ठेकेदारसँग मिलेमतो गरी बजेट दुरुपयोग गरेको आरोपमा प्रधानसेनापति सिग्देलले चार जना जर्नेल र दुई जना कर्नेललाई छानबिनको दायरामा ल्याएका हुन् । उपरथी प्रकाश देउजा, डिजिएमएस डा. अरुण शर्मा, सहायकरथी भुवन कुँवर, सहायकरथी भरत भण्डारी, महासेनानी दीपक भण्डारी र प्रमुख सेनानी सुजन प्रधानमाथि छानबिन सुरु भएको छ ।

तीमध्ये कुँवर र प्रधानलाई जिम्मेवारीबाट समेत हटाइसकिएको छ । डा. कुँवरलाई सैनिक अस्पतालको प्रमुख थिए । हाल उनलाई सैनिक सचिवकोमा तानेर अतिरिक्त समूहमा राखिएको छ । सेनाको अस्पतालमा करिब १५ करोड रुपैयाँ बराबरको ल्याब उपकरण खरिदमा अनियमितता भएको आरोपपछि छानबिन सुरु गरिएको हो ।

आवश्यक नभएको उपकरण समेत आर्थिक लोभमा किनिएको र यसमा अनियमितता भएको भन्दै प्रधानसेनापति सिग्देलले कारबाही थालेका हुन् । यस घटनापछि अस्पतालको नेतृत्व सहायकरथी नम्रता महरा रावललाई दिइएको छ । साथै, उपरथी रविन्द्र खत्रीको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरी छानबिन सुरु गरिएको सैनिक स्रोतले जानकारी दिएको छ ।

तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माको कार्यकालमा उपरथी देउजा खरिद विभागको प्रमुख थिए । त्यसै समयमा दीपक भण्डारी समेत ठेकेदारलाई सहज बनाउने मुख्य पात्रका रूपमा काम गर्थे । अहिले उनीहरूमाथि पनि कडाइका साथ अनुसन्धान भइरहेको सैनिक मुख्यालयले जनाएको छ । यस्तै, व्यापारीसँग मिलेमतो गर्दै विदेश भ्रमणसमेत गरेको आरोपमा प्रमुख सेनानी सुजन प्रधानलाई शान्ति सेना निर्देशनालयबाट तानेर अनुसन्धान सुरु गरिएको सैनिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्