
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो समूहबाट सरकारमा मन्त्री रहेकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन्।
सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि चीन भ्रमणमा रहेको नेता कोइरालाले आफ्ना मन्त्रीलाई ओली नेतृत्वको सरकारबाट तत्काल राजीनामा दिन भनेका हुन् ।
कृषिमन्त्री रामनाथ अधिकारीले नेता कोइरालाले आफूहरूलाई राजीनामा दिन निर्देशन दिएको जानकारी दिए । उनले आफु राजीनामा दिने तयारीमा रहेको पनि बताए । यद्यपी, आज काठमाडौँमा कफ्र्यु लागेकाले मन्त्रालय जाने अवस्था नरहेको उनले बताए ।
सोमबार जेन–जीले गरेको विरोध प्रदर्शनमा प्रहरीको दमनबाट १९ जनाको मृत्यु भएको थियो भने चार सय बढी घाइते भएका छन् । उक्त घटनापछि सरकारको चर्को आलोचना भइरहेको छ ।
कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले त घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन् । शेखर समूहबाट सरकारमा अधिकारी कृषिमन्त्री, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन्।














