काठमाडौं । जेनजी प्रदर्शन चकिँएसँगै शीर्ष नेताहरुमाथि आक्रमण सुरु भएको छ । नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले उनीहरुलाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।

शीर्ष नेताहरुको सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालित गरिएको उच्च सुरक्षा स्रोतले जनाएको छ । बालुवाटारसहित विभिन्न स्थानमा पटक–पटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् । अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको स्रोतले दृष्टिन्यूजलाई बताएको छ ।
स्रोतका अनुसार पूर्वप्रधानमन्त्री शीर्ष नेताहरुको घरमा आगगनी गरिएसँगै नेताहरुको सुरक्षा गर्न थालिएको हो । प्रदर्शनकारी कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत तनावको स्थिति सिर्जना भएको छ ।
भैंसेपाटीस्थित मन्त्रिक्वार्टरमा समेत पटकपटक हेलिकोप्टर अवतरण गरेको छ । केही नेतालाई उद्दार गरेर लगिएको सुरक्षा स्रोतले बताएको छ । तर, उनीहरुलाई कहाँ लगियो भन्ने बताइएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेलाई सर्वदलीय बैठक बोलाएका छन् ।
ओलीको गृहजिल्ला झापादेखि उर्जामन्त्री दिपक खड्काको संखुवासभाको घरमा समेत तोडफोड भएको छ । सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएका थिए । २ सय बढी घाइते छन् । त्यसपछि मंगलबारबाट प्रदर्शन देशव्यपी फैलिएको छ ।














