काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेनजी प्रदर्शनकारीहरू भेला भएर विमानस्थल प्रवेशको प्रयास गरिरहेका छन् । बिहानैदेखि विमानस्थल बन्द गरिएको छ ।

प्रदर्शनकारीहरूले पुराना नेताहरू भाग्ने भन्दै आन्दोलन चर्काएका छन् । स्थिति नियन्त्रण गर्न ठूलो सङ्ख्यामा नेपाली सेना खटाइएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको प्रदर्शन सोमबार हिंसात्मक बन्दा १९ जनाको मृत्यु भएको थियो ।
यसले आक्रोशित जेनजी युवाहरू मङ्गलवार पनि सडकमा उत्रिए । सरकारले लगाएको कर्फ्यूको अवज्ञा गर्दै उनीहरूले सिंहदरबारलगायत प्रमुख प्रशासकीय कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । अहिले पनि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन जारी छ । हिंसात्मक गतिविधिका कारण तनाव बढ्दो छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकार र प्रदर्शनकारीबीच वार्ताको कुनै संकेत देखिएको छैन ।














