Logo
Logo

प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने


2.8k
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । जेनजी प्रदर्शन चर्किरहेका बेला उनको यो सम्बोधनलाई निकै महत्त्वपूर्ण मानिएको छ ।

यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी प्रदर्शनकारीलाई संयम अपनाउन आग्रह गरेका थिए ।

त्यसपछि नेपाली सेनाले छुट्टै वक्तव्य जारी गर्दै सार्वजनिक सम्पत्तिको तोडफोड नगर्न अनुरोध गरेको थियो । सोमबार जेनजी प्रदर्शनमा सरकारी दमनका क्रममा धेरै युवाको ज्यान गएको र सयौँ घाइते भएका थिए ।

मङ्गलवार प्रदर्शनकारीहरूले नेताहरूको निवासलाई निशाना बनाएर आगजनी गरेका छन् । साथै, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास शीतलनिवासलगायत महत्त्वपूर्ण प्रशासनिक क्षेत्रहरूमा पनि आगजनी भएको छ ।

केही व्यावसायिक प्रतिष्ठानहरूमा समेत क्षति पुगेको छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले संयम अपनाउन र वार्तामा आउन प्रदर्शनकारीलाई आह्वान गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, डा। सन्दुक रुइत, कुलमान घिसिङलगायतले पनि सार्वजनिक सम्पत्तिको रक्षा गर्दै संयमित हुन अनुरोध गरेका छन् । 

स्थिति तनावपूर्ण बन्दै गएपछि मङ्गलवार बिहान केही मन्त्रीले राजीनामा दिएका छन् भने दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पदत्याग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्