काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले जेनजीको आन्दोलन दुरूपयोग गर्ने खेल भइराखेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न जाने र देश नै नरहने कि भन्ने चिन्ता थपिएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रिय जेन–जी ! तपाईंहरूले देशको निकासको लागि गरिराखेको पहलको समयमा केही कुराहरू याद राख्नुपर्ने हुन्छ । देश केवल गिस्कोर्ड ग्रुपको, एउटा निश्चित वर्ग, जाति र समूहको मात्रै होइन, तपाईंहरूले गर्ने हरेक निर्णय मेचीदेखि महाकाली, हिमाल पहाडदेखि तराई–मधेससम्म, कर्णाली र सुदूरपश्चिमदेखि मधेश र लुम्बिनीसम्म, खसआर्यदेखि मधेशी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, महिला, पछाडि पारिएका वर्गसहित सीमान्तकृत वर्गसम्म सबैले अपनत्व लिने गरी हुनु पर्दछ। सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने खालको हुनु पर्दछ, ।’
उनले भनेका छन्, ‘तपाईंहरूले आन्दोलन गर्नुभयो तर पर्दा पछाडि यसै अवसरलाई दुरुपयोग गर्न धेरै कुराहरू भइराखेका छन् । देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ ।’
देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरूकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका उनले बताएका छन् ।
उनले भनेका छन्, ‘त्यसैले अहिलेको संक्रमणकालीन स्थितिमा संशोधनको आवश्यकता पक्कै रहेपनि संविधानलाई चलाउने होइन (निर्वाचन पछि गर्दा हुन्छ), र अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसदलाई पनि भंग गर्नु हुँदैन, अन्यथा देशमा रिक्तता निम्तिन्छ ।’
दशकौंको आन्दोलन र बलिदानीपछि सम्भव भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तोसुकै परिस्थितिमा रक्षा गर्न तयार रहनुपर्ने पनि उनले बताएका छन् ।
‘केही पात्रहरूले जतिसुकै दुष्प्रचार गरे पनि यो देशको अस्तित्वको रक्षाको लागि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्नै पर्छ। यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसदलाई भंग गर्नु भयो भने अर्को १० वर्ष तपाईंहरूलाई संविधान बनाउनका लागि नै अल्झाइ राख्छन्, काम गर्ने वातावरण नै बन्दैनन्’ उनले भनेका छन् । त्यो ‘प्यानडोराज बक्स’ भएको उनको ठहर छ ।
‘निर्वाचन गराउनेतिर लाग्नु पर्दछ । ६ महिनाभित्र निर्वाचन गराउन सकियो भने त नयाँ प्रतिनिधि सभा पाइ हाल्नु हुन्छ, त्यसैले अहिले रिक्तता सृजना नगरौँ’ उनको भनाइ छ । उनले तत्काल गर्नुपर्ने कामको सूची पनि बताएका छन् ।














