काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले वर्तमान संकटको शान्तिपूर्ण निकासका लागि सबैमा हार्दिक अपिल गरेका छन् । उनले अहिलेको संकटको अवस्थामा देशलाई गैरसंवैधानिक अँध्यारो सुरूङतर्फ धकेलिनबाट जोगाउन अपिल गरेका हुन् ।

उनले देश अत्यन्त ठूलो संकट र अन्यौलताको भूमरीमा फसेको भन्दै अहिलेको राष्ट्रिय संकटलाई संवैधानिक प्रक्रियाबाटै निकास दिनुपर्ने बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
यस्तो छ नेता प्रकाश ज्वालाको अपिल
आज हाम्रो देश अत्यन्त ठूलो संकट र अन्यौलताको भूमरीमा फसेको छ । राष्ट्रले ठूलो क्षति व्यहोरेको छ । नव युवाहरुको रगत बगेको छ । ति वलिदान हुने युवाहरुप्रति भावपूर्ण श्रद्धान्जली तथा परिवारजनमा हार्दिक समवेदना छ । हुनुपर्ने क्षति भैसक्यो । अब प्राणभन्दा प्यारो हाम्रो देश बचाऔँ । जेनजी पुस्ताको विद्रोह दुरुपयोग हुनसक्ने खतराप्रति सबै सतर्क हुनुपर्दछ ।
देशलाई गैरसंवैधानिक अँध्यारो सुरूङतर्फ धकेलिनबाट जोगाऔँ । देशका धरोहर जले पनि, धेरै कुरा सिद्धिए पनि ‘चाँदीको घेरा’जस्तै हामीसँग समय बाँकी छ । कुनै पनि खाले अतिवाद जनतालाई स्विकार्य हुँदैन । जनता शान्ति, अमनचयन र समृद्धि चाहन्छन् ।
यो संकटबाट उठ्न सम्पूर्ण आग्रह पूर्वाग्रह त्यागेर राष्ट्रिय एकता कायम गर्न र राष्ट्र निर्माणको संकल्प गर्न जरुरी छ । जेनजी आन्दोलनकारीलगायत सबै मिलेर वर्तमान समस्या समाधान गरि राष्ट्र, राष्ट्रियता, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु यतिबेला मुलुकवासीको कर्तव्य बनेको छ ।
तानाशाही सरकार ढलेको छ । तर, हामीसँग संविधान छ, अभिभावकिय संस्था, संबिधानका संरक्षक राष्ट्रपति र जनताको सार्वभौमिकताको प्रयोग गर्ने प्रतिनिधिमूलक संस्था संसद छ । सर्वप्रथम जनताको जिउधनको सुरक्षा, निजी र सार्वजनिक सम्पत्तिको रक्षा अहिलेको आधारभुत सवालमा ध्यान पू¥याउनु पर्दछ ।
जति अबेर ग¥यो त्यति बिभिन्न स्वार्थ समूहहरुको षड्यन्त्र र चलखेल बढ्नेछ । अब ढिलो नगरी राष्ट्रपतिको नेतृत्व र समन्वयमा राजनितिकरुपमा संवैधानिक प्रक्रियाबाट वर्तमान समस्याको निकास निकालिनु पर्दछ । सम्माननीय राष्ट्रपतिज्युले तत्काल राष्ट्रका नाममा सम्बोधन गरेर सबैलाई धैर्य रहन, जनताको जिउ धनको रक्षा गर्न र एकतावद्ध भएर सम्बिधानभित्रबाट समस्याको निकास निकाल्न अपिल गर्नु पर्दछ ।
आन्दोलनका माग र सवाल सम्बोधन
१, भाद्र २३ र २४ गते हत्या गरिएका सम्पूर्ण व्यक्तिहरुलाई शहिद घोषणा गर्ने ।
२, सम्पूर्ण घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्ने ।
३, आन्दोलनका क्रममा थुनिएका आन्दोलनकारीहरुलाई रिहाइ गर्ने ।
४, सामाजिक सन्जाल खुलिसकेको अवस्थामा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन बनाउने प्रतिबद्धता गर्ने ।
५, जेनजी आन्दोलनका मुद्धाहरु समेटेर संविधान संशोधनको प्रतिवद्धता गर्ने ।
६, भाद्र २३ र २४ गते घटेका घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने र अपराधिहरुलाई कडा कार्वाही गर्ने ।
७, भ्रष्टाचारीलाई कडा कार्बाही गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिने ।
८, अहिलेको समस्याको संवैधानिक र शान्तिपूर्ण निकास निकाल्ने ।
९, राष्ट्रपतिज्युको संयोजनमा तत्काल जेनजी आन्दोलनकारी लगायत सर्वपक्षीय वार्ता र छलफल अघि बढाउने ।
१०, संसदिय प्रक्रिया सुचारु र विधिको शासन कायम गरेर संवैधानिक राजनैतिक शून्यता अन्त गर्ने ।
११, संवैधानिक प्रक्रियाबाट जेनजी आन्दोलनकारीहरु सम्मिलित सर्वपक्षीय सरकार गठन गर्ने ।
प्रकाश ज्वाला
सांसद, एकीकृत समाजबादी














