काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक संकट सम्बोधन गर्न राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखबीच समन्वय गरी वैधानिक प्रक्रियाबाट नयाँ मन्त्रिपरिषद् गठन गर्नुपर्ने सुझाव दिएको छिन् ।

जेनजी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने, भ्रष्टाचार उन्मूलन गर्ने र सुशासन कायम गर्ने मागसहित गरेको आन्दोलनका क्रममा १९ जना युवकको ज्यान गएपछि भड्किएको हिंसा, आगजनी तथा तोडफोडले देश स्तब्ध बनेको छ ।
बिहीबार जारी विज्ञप्तिमा उनले यस्तो संवेदनशील अवस्थामा संविधानको मर्मअनुसार अघि बढ्न सबै पक्षलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रीको राजीनामापछि सरकार कामचलाउ मोडमा छ । तर, संविधानले प्रत्याभूत गरेका राष्ट्रपति र जननिर्वाचित संसद् जस्ता संस्था जीवन्त छन् । तसर्थ, वैधानिक मार्गबाट नयाँ सरकार गठन आवश्यक छ, भण्डारीले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
उनले युवा आन्दोलनलाई लोकतान्त्रिक मूल्य र मान्यतासँग जोडेर सही दिशामा लैजानुपर्ने औँल्याउँदै हिंसा तथा तोडफोडबाट राज्य र सम्पत्तिमा भएको क्षतिको गहन छानबिन गर्न सम्बन्धित सबैलाई अपिल गरेकी छन् । साथै, सामाजिक सञ्जाल बन्दीले निस्सासिएका समाजलाई स्वतन्त्रताको वातावरण फर्काउने जेनजी पुस्ताको सपना थप लोकतान्त्रिक र प्रगतिशील बन्ने विश्वास व्यक्त गरेकी छन् ।














