
काठमाडौं । भारतले नेपालसँग सिमाना जोडिएका सात जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ । जेन जीको आन्दोलनका कारण नेपालमा राजनीतिक उथलपुथल भएपछि उत्पन्न परिस्थितिका कारण सुरक्षा व्यवस्था कडा बनाएको हो ।
लखनऊमा पत्रकारहरुसँग कुरा गर्दै उत्तर प्रदेशका प्रहरी महानिर्देशक (डीजीपी) राजीव कृष्णले सशस्त्र सीमा बल (एसएसबी)का सबै सीमा चौकी, स्थानीय प्रहरी चौकी र जाँच चौकीहरूलाई थप बलियो बनाइएको जानकारी दिए । आवागमनका नाकाहरूमा कडाइ गरिएको र अधिकारीहरूले कडा निगरानी गरिरहेका छ ।
उनले भने, ‘नेपालसँग सिमाना जोडिएका सबै सात जिल्लामा सतर्कता जारी गरिएको छ । सबै सीमा चौकिहरू, स्थानीय प्रहरी चौकिहरू र चेक पोस्टहरूलाई मजबुत बनाइएको छ । ट्रान्जिट प्वाइंटहरूमा सुरक्षा कडा पारिएको छ र हाम्रा अधिकारीहरू कडा निगरानी राखिरहेका छन् ।’
कृष्णले थपे, ‘सीमावर्ती क्षेत्रहरूमा नागरिक प्रहरीको तैनाती पनि बढाइएको छ ताकि कुनै पनि नकारात्मक असर नहोस् । नेपाली नागरिक जो भारतमा फसेका छन्, उनीहरूको सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि सम्पर्कका लागि तीन ल्यान्डलाइन नम्बर र एक व्हाट्सएप नम्बर जारी गरिएको छ ।’
नेपालका कारागारबाट धेरै कैदी भागेकाले देशभर अशान्ति पैदा भएको पनि धारतले जनाएको छ । आन्दोलनकारीले प्रहरी चौकी र कारागार तोडफोड तथा आगजनी गर्दा कैदीबन्दीहरु फरार छन् ।














